२०८२ जेठ ७, मङ्गलवार , ०१:४८:५९ बजे

Sajhamanch
'

कांग्रेस महासमिति बैठक : डेढ करोड खर्च हुने अनुमान

आइतवार, फागुन ६, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

सोमबार (भोलि)देखि यही फागुन १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक आयोजना गरिएको छ । “प्रजातन्त्र दिवस मनाउँदै आएका छौँ । कांग्रेसका लागि ठूलो र महत्त्वको दिन हो,” उनले भने, “महासमितिको आवश्यक सम्पूर्ण तयारीहरू लगभग अन्तिम चरणमा छ । यो महासमिति बैठकले पार्टीको आवश्यक नीति तर्जुमा गर्नेछ ।”

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्ने उनले बताए ।

यस्तै, प्रवक्ता डा। प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्याम घिमिरेले लेखापरीक्षण प्रतिवेदन पेस गर्नेछन् ।

हरेक निर्वाचन क्षेत्रबाट एक हजार ७८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाबाट ६९, महासमिति सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला सभापति र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्ष महासमिति बैठकमा सहभागी हुनेछन् ।

महासमिति बैठक सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । “बढ्दै गए दुई करोडसम्म लाग्ने अनुमान छ । ६० प्रतिशत सहभागीबाट, २० प्रतिशत लेवी र बाँकी रहेको म्यानेज हुन्छ,” उनले भने ।

सम्बन्धित खबर