
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको नेपाल दबाबमा परेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९.३ ओभरमा २५ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।
कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए । १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन् ।
एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए ।
ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए । यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो ।