
काठमाडौं । नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएको छ।
उपसभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव तयार पारेका छन्।
‘आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुनेछ,’ प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने।
यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेश गर्नेछन्। महामन्त्री थापाले सांगठानिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्।
महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव बिहीबार सानेपामा बस्ने केन्द्रीय समितिले पारित गर्नेछ। महासमिति बैठकका लागि तयारी अन्तिम चरणमा पुगेको केन्द्रीय कार्यालयले जनाएको छ।
महासमितिका राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धताु भन्ने नारा पनि तय गरिसकेको विश्वकर्माले जानकारी दिए।
महासमितिमा करिब दुई हजार तीन सय जना सहभागी हुनेछन्। कांग्रेसले २०७८ को मंसिरमा १४ औं महाधिवेशन गर्दा नेतृत्व अधिवेशन मात्रै गरेर नीति अधिवेशन पछि गर्ने निर्णय गरेको थियो।
फागुन ७ गते उद्घाटन र १० गते समापनका बेला कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने कांग्रेसले जनाएको छ।