बुटवल । पश्चिम नवलपरासीको सुस्तामा दुई जनाको हत्या भएको छ। सुस्ता गाँउपालिका–३ को मर्चहवामा एकै घरका हजुरबुवा र नातीको हत्या गरीएको अवस्थामा शव फेला परेको हो।
स्थानीय ६५ वर्षका यक्षलाल चमार र उनका नाती ११ वर्षका गौचरण चमारको आज बिहान हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ।
नारायणी नदीको ५ नम्बर ठोकरनजिकै कच्ची घरमा बस्ने उनीहरूको शव आज बिहान घरबाहिर उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ।
बुधबार बिहान साढे ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए। प्रहरी टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए।
मृतकको शरीरमा धारिलो हतियार प्रहार गरेको पाइएकाले हत्या भएको अनुमान गरिएको डिएसपी बोहोराले बताए।
यक्षलालका छोरा रोजगारीका लागि केही महिनाअघि भारत गएको र बुहारी दुई छोराछोरीसहित माइतमा बस्दै आएको स्थानीयले प्रहरीलाइ बताएका छन्।