
काठमाडौं । अध्यागमन अधिकृत छायालाल मोक्तानसँग विवादमा परेका तीन प्रहरी कर्मचारीलाई विमानस्थल प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । उनीहरू पुरस्कार किताबखानामा लेखिने गरेर नगद पुरस्कृत भएका हुन् ।
माघ २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट एराइभलतर्फ आइरहेका मोक्तानलाई जाँच गर्न खोज्दा वाक थ्रु (एक्स–रे) गेट पासको चेकिङमा रहेका प्रहरी जवान रविरन्जन गुप्ता, प्रहरी सहायक निरीक्षक संजय तामाङसहित तीन प्रहरी कर्मचारीसँग कुटपिट भएको थियो ।
उक्त विषयमा छानबिन गर्न गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वमा समिति समेत बनाइएको थियो । समितिले असई तामाङलाई निलम्बन र अध्यागमन अधिकृत मोक्तानलाई त्यहाँबाट हटाउन सिफासिर गरेको थियो ।
समितिको सिफारिसप्रति विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द असन्तुष्ट थिए । उनले सोही कारण राजीनामा दिएका थिए । तर, उनको राजीनामा भने प्रहरी प्रधानकार्यालयले अस्वीकृत गरिदिएको थियो ।
राजीनामा अस्वीकृत भएका डीआईजी चन्दले तीनजना प्रहरीलाई पुरस्कृत गरेका हुन् । उनीहरूलाई विमानस्थलबाट रानीपोखरी काज सरुवा गरिएको छ ।