२०८२ जेठ १०, शुक्रवार , ०९:३४:०२ बजे

Sajhamanch
'

सत्तारुढ गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म मात्रै होः ओली

शनिवार, माघ २०, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताएका छन्।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरु कुनै राजनीति नगरेको जिकिर गरेका हुन्।

देशका निम्ति केही गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको उनको आरोप थियो। अध्यक्ष ओलीले अहिले रेमिट्यान्स बढेकामा सरकार खुशी भएको तर युवालाई विदेश जानबाट रोक्न नसकेको बताए।

‘देशको अवस्था नाजुक छ। युवा विदेश पलायन भईराखेका छन। उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ। हिँडनुपर्ने बाटो एकातिर छ। हिँड्न नहुने बाटो हिँडिएको छ। यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म। सत्तामा पुग्ने र सत्तामा अडिने। त्यत्ति हो यसको राजनीति।’ उनले भने।

उनले सरकारले जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितका लागि केही काम गर्न नसकेको जिकिर गरे। ‘सिँगै हिउँद प्लाष्टिकमुनि मानिसहरु बसिरहेका छन्। हाम्रो भोलेन्टियर्सले १२/१५ सय घर बनाएर त्यत्तिनै हो। अरु केही भएको छैन कस्तो सरकार होला ?’ ओलीले भने।