
काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट पक्राउ परेका नौजनामध्ये तीनजना सोही क्यासिनोका सञ्चालक गरेको खुलेको छ । सञ्चालक तीनैजना भारतीय नागरिक हुन् ।
काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको थियो । क्यासिनोभित्र अवैध सट्टेबाजी खेलाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ बरामद गरेको छ । काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलका अनुसार पक्राउ पर्ने भारतीय नागरिकहरूमा गौरव चोप्डा, रिषभ पावा र गुलाब सिंह छन् । तीनै जना क्यासिनो सञ्चालक हुन् ।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले सट्टेबाजी खेल्न नेपालीलाई प्रवेश गराएको खुलेको छ । सट्टेबाजी खेल्न गएका ६ जना नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।