२०८१ फागुन १४, बुधवार , ०५:०१:०५ बजे

Sajhamanch
'

एसियन कप खेलाउने पहिलो महिला रेफ्री बनिन् जापानकी योसिमी यामासिता

आइतवार, पौष २९, २०८०

काठमाडौं । जापानकी योसिमी यामासिता एएफसी एसियन कप खेलाउने पहिलो महिला रेफ्री बनेकी छन् ।

शनिबार कतारको अल रायानस्थित अहमद बिन अली रंगशालामा जापानकी यामासिताले भारत र अस्ट्रेलियाबीचको खेलमा मुख्य रेफ्रीको भूमिका निभाएकी थिइन् । यामासितासँगै सहायक रेफ्रीमा माकोटो बोजोना र नाओमी टेसिरोगी थिए ।

प्रतियोगिताको इतिहासमै पहिलोपटक महिला रेफ्रीले खेल खेलाउनुलाई एसियन फुटबल फेडेरेसनले ‘ऐतिहासिक भूमिका’ भनेको छ ।

३७ वर्षीया यामासिताले सन् २०१५ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट रेफ्रीको ब्याच पाएकी थिइन् । उनी जापानको शीर्ष डिभिजन लिग, एफसी कप र एएफसी च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री समेत हुन् ।

२०२२ मा कतारमा भएको फिफा विश्वकपका निम्ति छानिएका ३६ रेफ्रीमा परे पनि उनले खेल खेलाउने अवसर पाएकी थिइनन् ।