२०८१ पौष ६, शनिवार , १०:०२:२७ बजे

Sajhamanch
'

शिक्षासेवी ओलीले पितृस्मृतिमा निकाले कृति

आइतवार, मंसिर २४, २०८०

बिर्तामोड । आफ्ना बुवाआमाले निर्वाहा गरेका उल्लेखनीय भूमिकालाई मार्गदर्शनका रूपमा उजागर गर्दै विगतका कुराहरूलाई ताजा बनाइराख्न शिक्षासेवी मोहनप्रसाद ओलीले संस्मरण कृति प्रकाशित गरेका छन् ।

‘हाम्रा अनुभूतिहरु’ नामक संस्मरण कृतिको बिर्तामोडमा शनिबार आयोजित विशेष कार्यक्रममा लोकार्पण गरिएको हो । बिर्तामोड वडा नं. ५ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कृति लोकार्पण कार्यक्रममा दिवंगत आफ्ना बुवा आमाप्रति श्रद्धाका भावहरू व्यक्त गर्दै तयार गरिएको सो कृति स्मरणीय र पूज्यनीय रहेको वक्ताहरुले धारणा राखेका छन् ।

१३६ पृष्ठको सो कृतिमा लेखक मोहन ओलीका हजुरबुवाका बुवा लप्टन रामचन्द्र ओली, हजुरबुवा लप्टन हरिप्रसाद ओली, बुवा बिनोदकुमार ओली, आमाहरु भद्रशीला ओली र खीनाकुमारी ओलीलाई मुख्य पात्रको रुपमा चित्रित गरिएको छ ।

उनीहरुकै जीवनी, योगदान र भोगाइलाई कृतिमा उतारिएको छ । कृतिमा आठराइका ओली वंशका शीर्ष व्यक्तित्व रामचन्द्र ओली, लप्टन हरिप्रसाद ओली एक व्यक्तित्व र चिनारी, म, मेरी आमा र उनका अनुभूतिहरू शीर्षकमा लेखकले सामग्री पस्किएका छन् ।

सो ‘हाम्रा अनुभूतिहरु’ पुस्तकमा आमा भद्रशीला ओलीको सम्झनामा, मेरी आमा, बुबा र आमाप्रति श्रद्धासुमन, पौरखी आमा ! परिश्रमी आमा !, मेरी आमा त भगवान नै हो, आमासँग बिताएका मिठा क्षणहरू, ममताकी प्रतिमूर्ति सानो आमासँगको मेरो साक्षात्कार, भोगाइ र श्रद्धासुमन, बैकुण्ठवासी बुबा बिनोदकुमार प्रति हार्दिक श्रद्धासुमन, शिक्षासेवी–काइँला बा, हजुरबुवा हजुरआमालाई सम्झँदा, त्यो बाइ–बाइ नै अन्तिम रहेछ, बुबा ! भावपूर्ण श्रद्धाञ्जली, विनोद ओलीः अनौठो परम पदप्राप्ति आदि शीर्षकहरुमा संस्मरण लेखेका छन् ।

ओली वंश समन्वय समितिका संरक्षक सरोजकुमार ओलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि संग्रौला, तत्कालीन संविधानसभाका सदस्य भक्त खपांगी, राष्ट्रिय सभाका पूर्व सांसद हरिचरण शिवाकोटी, बिर्तामोडका पूर्व नगरप्रमुख धु्रवकुमार शिवाकोटी, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, ओली वंश केन्द्रीय समन्वय समितिका अध्यक्ष उमेशचन्द्र ओली, रुद्रगौरी श्री अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओली, वरिष्ठ साहित्यकार तथा वनिता पत्रिकाकी सम्पादक लक्ष्मी उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

भद्र विनोद खीनाप्रति समर्पित हाम्रा अनुभूतिहरु संस्मरण कृतिमाथि हरिनारायण भट्टराईले समीक्षा गरेका थिए भने स्वागत मन्तव्य राख्दै सम्पादक मोहनप्रसाद ओलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन मुना काफ्ले पौडेलले गरेकी थिइन् ।

सम्बन्धित खबर