विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा कीर्ते छाप गरी भवन निर्माण सम्पन्न दिएको कागज फेला परेको छ । सेवाग्राहीले आफ्नो घर सम्पन्न भएको प्रमाण पत्र कीर्ते भन्ने थाहा पाएपछि रहस्य बाहिर आएको हो ।
घर नक्सा शाखामा ७ वर्ष अघिदेखि नै समस्या रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाको सम्बन्धित शाखाले जारी गरेकोे प्रमाण पत्र र सेवाग्राहीले पाएको प्रमाण पत्र, चलानी नंं. समेत फरक देखिएको छ । कतिपय सेवाग्राहीले पाएको प्रमाण पत्रको रेकर्ड पालिकामा नभएको घर नक्सा शाखाका प्रमुख ईन्जिनियर उत्तम बरालले बताए । उनका अनुसार कतिपय सेवाग्राहीले राजश्व बुझाउन बाँकी रहेकाले पनि प्रमाण पत्र पाएका छैनन् ।
‘सेवाग्राहीले कन्सल्टेन्सीमा राजस्व बुझाएका छौ, हामीलाई प्रमाण पत्र चाहियो भन्दै आएका पनि छन् । तर कन्सल्टेन्सीमा राजश्व बुझाउँदा कसरी पालिकाले प्रमाण पात्र दिन्छ’ उनले प्रतिप्रश्न गरे- ‘कन्सल्टेन्सीको विषयमा पालिकाले जान्दैन ।’
सेवाग्राहीले प्रमाण पत्र लिन जाँदा रेकर्ड नभेटिए पछि शिवसताक्षी नगरपालिकाले घटनाको सत्य तथ्य पत्ता लगाउन वडा नं. ८ का वडाध्यक्ष सन्त फेउदिनको अध्यक्षतामा तीन सदस्य छनविन समिति गठन गरेको थियो ।
घर नक्साको प्रमाण पत्रका लागि सिधै नगरपालिकामा आएको फाइलमा कुनै समस्या नरहेको नगरका इन्जिनियर कृष्ण राईले जानकारी दिए । हामीसँग सिधै आएका कागजपत्र पुगेका फाइललाई हामीले रोकेका छैनौ । तर कन्सन्टेल्सीमा रकम बुझाएर आएको फाइलहरुमा समस्या रहेको छन् । उनले कतिपय फाइलहरुको कन्सन्टेल्सीले राजश्व नबुझादिएका कारण अहिले समस्या आएको बताए । हाल बाहिर आएको नक्कली प्रमाण पत्रमा इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर समेत कीर्ते रहेको उनको भनाई छ ।
कन्सल्टेन्सीका प्राविधिक सागर ल्वागुनले नगरको घर नक्सा शाखामा गई दर्ता, चलानी र कार्यालयको छाप प्रमाण पत्रमा आफै लगाउने गरेको नगरका एक कर्मचारीले बताए । नगरपालिकाले कन्सलटेन्सीका कर्मचारीलाई विश्वास गर्दा पनि सेवाग्राहीले झन धेरै दुःख पाएको ती कर्मचारीको भनाई छ । कन्सलटेन्सीका प्राविधिक हाल बैदेशिक रोजगारीमा छन् ।
कतिपय सेवाग्राहीले घर नक्साका लागि बुझाउनुपर्ने राजश्व पनि कर्मचारीको हातमा बुझाएको पाइएको छ । राजश्वका लागि कर्मचारीको हातमा आएको रकम कन्सलटेन्सीमार्फत नगरमा दाखिला नभएको देखिएको छ ।
नगरप्रमुख मेगाहाङ्ग थोप्राले यो समस्या लामो समयदेखि तानिदै आएको बताए । यसको बारेमा हामीले छानवीन समिति गठन गरेका छौ । समितिको प्रतिवेदनको पखाईमा रहेकाले समितिले प्रतिवेदन बुझाएपछि छिटै नै यसको सत्य तथ्य बाहिर आउछ । नगरपालिकाले यसमा जो कोही दोषी ठहरिए पनि कार्वाहीको दायरामा ल्याउँछ । उनले भने, यस विषयमा सबै अनुसन्धान पछि पत्रकार सम्मलेन गरेरै घटनाको सावर्जनिक गछौं ।
नगर उप्रमुख नरमाया कार्कीले घर नक्शामा समस्या आउनाले नगरपालिकाले धेरै राजश्व गुमाउनु परेको बताइन् । कति राजश्व गुम्यो त्यो त्यसको यकिन तथ्यांक म सँग आएको छैन । उनले भनिन् यसरी राजश्व गुम्दा नगरपालिका दिन प्रतिदिन धरासायी बन्छ । यस प्रकणरण टुंगो लगाएर नगरपालिकाले दोषिलाई कार्वाहीको दायरामा ल्याउँछ ।
छानवीन समितिका संयोजक सन्त फेउदिनले उक्त प्रकरणको प्रतिवेदनको अन्तिम रुप दिने काम भइरहेको बताए । छानवीन समितिले कुनै कन्जुस्याई नगरी सोमबारसम्ममा नगरपालिकालाई प्रतिवेदन बुझाउने उनको भनाई छ । फेउदिनका अनुसार यो प्रकरणमा जो कोही दोषी ठहरिए पनि कार्वाहीको भागिदार बन्छ ।
नगरपालिकामा घर नक्शाका लागि लैजान आवास इन्जिनियरिङ कन्सल्टेन्सी र विशाल इन्जिनियरिङ कन्सल्टेन्सीले नक्सांकन गरेका भेटिएको छ । तर विशाल कन्सल्टेन्सीले गरेको फाइलमा कुनै समस्या नरहेको कन्सल्टेन्सीका प्रोपराइटर विशाल थेवेले जानकारी दिए । थेवेका अनुसार कन्सल्टेन्सीले घर नक्साको काम गरेको फि मात्र लिने गरेको छ । उनले भने नगरपालिकालेमा बुझाउने राजश्वको बारेमा हामी जान्दैनौ ।