काठमाडौं । अमेरिकी सरकारले नेपालको स्तरोन्नतिलाई सघाउ पुग्ने गरी थप सहयोग तथा साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ।
अमेरिकामा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँगको भेटमा समकक्षी एन्टोनी जे ब्लिन्केनले अमेरिकाको पुरानो र अभिन्न मित्र नेपालको विकास र समृद्धिमा सदैव साथ र सहयोग रहने प्रतिबद्धता जनाएका हुन्।साउद र ब्लिन्केनबीच अमेरिकाको विदेश मन्त्रालयमा मंगलबार द्विपक्षीय साझेदारी र विकास सहकार्यका विषयमा छलफल भएको हो। भेटवार्ता नेपालको भावी विकासका लागि फलदायी भएको मन्त्री साउदले बताए।
परराष्ट्रमन्त्री साउदले नेपाल अतिकम विकसित मुलुकबाट सन् २०२६ सम्ममा स्तरोन्नतिका लागि अगाडि बढेको भन्दै विकासका प्राथमिकताबारे विदेशमन्त्री ब्लिन्केनलाई अवगत गराए। त्यसका लागि व्यापार तथा लगानी, बजारको पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोगको अपेक्षा गरेको उनले बताए।
मन्त्री साउदले अमेरिकी सरकारको अन्तर्राष्ट्रिय सहयोग (यूएसएआईडी) र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मार्फत नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग जारी राखेकोमा विदेशमन्त्री ब्लिन्केनमार्फत अमेरिकी सरकारप्रति आभार व्यक्त गरे। दुवै विदेशमन्त्रीले एमसिसी अन्तर्गतका आयोजनाको समयमै कार्यान्वयनको आवश्यकतामा जोड दिएको न्यूयोर्कस्थित नेपाली दूतावासले जनाएको छ। प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालको प्रगतिको प्रशंसा गर्दै ब्लिन्केनले अमेरिकाले नेपाललाई बलियो र समृद्ध लोकतान्त्रिक मुलुकका रूपमा हेर्न चाहेको बताए। उनले नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग निरन्तर जारी राख्ने आश्वासन दिए।