
बिर्तामोड । बिर्तामोडमा जारी चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ ।
बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड–५ सेमिफाइनलमा प्रवेश हो ।
बिर्तामोड–५ लाई जीत दिलाउन विक्की चौधरीले गरेको एकमात्रै गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको २९औं मिनेटमा बिर्तामोड ७ विरुद्ध गोल गरेका थिए । उनको लामो प्रहार गोल रक्षकले बचाउ गर्न सकेनन् ।
खेलमा गोल गर्ने थुर्पै अवसर पाए पनि सदुपयोग गर्न नसक्दा बिर्तामोड ७ ले पराजय भोग्नु पर्यो ।
खेलमा बिर्तामोड ५ का २ खेलाडीले पहेँलो कार्ड पाएका थिए । रोचक राईले २० मिनेट र नितेश लिम्बूले ६० मिनेटमा पहेँलो कार्ड पाए ।
आजको खेलमा एक मात्र गोल गर्दै टिमलाई जित दिलाएका बिर्तामोड–५ का खेलाडी विक्की चौधरी ‘म्यान अफ दि म्याच’ चुनिए । उनले नगद एक हजार ५०० पुरस्कार पाए । उनलाई झापा जिल्ला बास्केटबल संघका अध्यक्ष प्रकाश लिङ्देनले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा भोलि शुक्रबार बिर्तामोड वडा नम्बर १ र वडा नम्बर २ बीच खेल हुनेछ ।