२०८१ मंसिर १४, शुक्रवार , ११:३३:४४ बजे

Sajhamanch
'

नेपाल किसान महासंघ झापाको समिति विस्तार

बुधवार, असोज १७, २०८०

झापा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल किसान महासंघ झापाको समिति विस्तार कार्यक्रममा बोल्ने वक्ताहरुले देशको आर्थिक मेरुदण्ड कृषि पेशा नै भएकोले आयात प्रतिस्थापन गर्न नेपालमै उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित सो कार्यक्रममा वक्ताहरुले निर्वाहमुखी खेती प्रणालीलाई उत्पादनमुखी बनाएर किसानको जीवनस्तर उकास्ने योजना अघि सार्न सरकारसँग माग पनि गरेका छन् ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले आफ्नो मन्तब्यमा किसानलाई राज्यले छुट्याएको अनुदान विचौलियाले प्रयोग गरिरहेको बताउँदै वास्तविक किसानसम्म पुर्याउन आन्दोलनको आवश्यकता औंल्याएका थिए ।

उपभोग्य कृषि उपजको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन सकेमात्रै कृृषिउपज वस्तुको आयात प्रतिस्थापन हुने बताउँदै सभापति थेवेले यसका लागि टोलदेखि नै संगठित हुन किसानलाई आग्रह पनि गरे ।

कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य कालु मेचेले लम्पी स्किन डिजिजका कारण किसानको करोडौं क्षति भएको स्मरण गर्दै सोको क्षतिपूर्ति गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।

कूल किसानमध्ये ८० प्रतिशत किसानहरु आफैं मजदूर भएको बताउँदै कार्यक्रमका वक्ताहरुले किसान र मजदूरको जीवनस्तर सुधार नभएसम्म समाजवाद नआउने धारणा राखेका थिए ।

नेपाल किसान महासंघ झापाका सभापति रतन थिङ्लावोको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति झमक खड्काले आमन्त्रितहरुलाई शाब्दिक स्वागत गरेका थिए भने सञ्चालन नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले गरेका थिए ।

किसानहरुको भेलाले अध्यक्ष थिङ्लावोको अध्यक्षतामा महासंघको झापा शाखा विस्तार गरेको हो । समितिको उपाध्यक्षमा शेखरनाथ अधिकारी र झमक खड्का, सचिवमा यादव गिरी र केशव सुवेदी, सहसचिवमा नेत्र विमली र कृष्ण गौतम, कोषाध्यक्षमा कुवेरधन अधिकारी रहेका जनाइएको छ ।

जिल्ला समितिमा मनोनित सबैलाई पार्टी जिल्ला सभापति थेवेले प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित खबर