२०८१ मंसिर १४, शुक्रवार , ०२:५२:५७ बजे

Sajhamanch
'

कमल गाउँपालिका ४ : वडामा नागरिक सहायता कक्ष, कागजातको फोटोकपी निःशुल्क

बिहिवार, भदौ २८, २०८०

कमल । पछिल्लो समय स्थानीय तहले नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न विभिन्न उपायहरु अवलम्वन गर्दै आएका छन् । सोहीक्रममा झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले कार्यालयमै नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई निःशुल्क सेवा प्रवाह सुरु गरेको हो ।

कार्यालयमै नागरिक सहायता कक्ष स्थापना गरेर नागरिकलाई वडा कार्यालयबाट सेवा लिनका लागि आवश्यक पर्ने सम्पूर्ण कागजपत्रको निःशुल्क रुपमा फोटोकपी गरिदिनुका साथै सेवा शुल्कसमेत नलिइने नीति अख्तियार गरिएको वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताएका छन् ।

वडा कार्यालय बाहिर रहेका लेखापढी व्यवसायीसले सेवाग्राहीसँग आफूखुसी १०० देखि ५०० रुपैयाँसम्म शुल्क लिने गरेको गुनासो दिनहुँजसो वडा कार्यालयमा आउन थालेपछि कार्यालय यस्तो निर्णयमा पुगेको बताइएको छ । सेवाग्राही नागरिकको गुनासोलाई सम्बोधन गर्दै चालू आर्थिक वर्षबाट नागरिक सहायता कक्ष स्थापना गरी निःशुल्क सेवा सुरु गरिएको वडासचिव पर्शुराम तिम्सिनाले जनाए ।

नागरिकलाई निःशुल्क सेवा प्रवाहका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका अनुसार दैनिकरुपमा पाउने सेवा सुविधा प्रदान गर्ने गरी कार्यालयले नै एकजना कर्मचारीको व्यवस्थापन गरेकोसमेत वडासचिव तिम्सिनाले बताए ।

यसका साथै कार्यालयमा आएर सेवा लिन नसक्ने ज्येष्ठ नागरिकहरु, अपाङ्गता र अशक्त नागरिकको सामाजिक सुरुक्षा भत्ता कार्डसमेत घरघरमा पुगेर नविकरण गरिदिएको वडा कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर