२०८१ मंसिर १४, शुक्रवार , ०७:५१:५८ बजे

Sajhamanch
'

वीपी जयन्तीमा नेपाली कांग्रेसद्वारा जिल्लाभर विविध कार्यक्रम

आइतवार, भदौ २४, २०८०

झापा । जननायक विपी कोइरालाको ११०औं जन्मजयन्ती विविध कार्यक्रमका साथ आज देशभर मनाइएको छ । प्रजातान्त्रिक समाजवादी दर्शनका ब्याख्याता एवं नेपाली कांग्रेसका संस्थापक सभापति कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो ।

बुवा कृष्णप्रसाद कोइराला र आमा दिब्या कोइरालाका साइँला सुपुत्रका रुपमा विपीको जन्म भएको थियो । नेपाली राजनीतिमा विपी कोइराला र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामले सुपरिचित उनका तीनघुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदी आइन्, आत्मबृत्तान्त लगायतका चर्चित साहित्यिक कृतिहरु प्रकाशित छन् ।

उनको ११०औं जन्मजयन्तीको अवसर पारेर उनको राजनीतिक जीवन, मूल्य, मान्यता, प्रजातान्त्रिक समाजवादी सिद्धान्तका बारे चर्चा गरिएको हो । यस्तै साहित्यिक बृत्तमा उनका कृतिहरुको चर्चासँगै साहित्यले दिएको सन्देशका बारे समीक्षा गरिएको छ ।

दिवसको सन्दर्भमा नेपाली कांग्रेस झापा अन्तरगत अधिकांश पालिकाहरुमा वीपी जयन्ती मनाइएको छ । नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर–१० स्थित वीपी कोइरालाको शालिकमा माल्यार्पण एवं बृक्षरोपण गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा उपसभापति केशवराज पाण्डे, नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनाली, ३ नम्बर क्षेत्रीय सभापति एवं भद्रपुर नगरप्रमुख गणेश पोखरेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम अन्तरगत भद्रपुर माविको प्राङ्गणमा विभिन्न जातका विरुवा रोपिएको थियो ।

यसैगरी नेपाली कांग्रेस दमक नगर समितिले दमक अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । नेका क्षेत्र नं. ५, ५ (ख) र नगरसमितिको संयुक्त आयोजनामा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको हो । कार्यबाहक सभापति सागर खनालको सभापतित्वमा उक्त कार्यक्रम गरिएको हो ।

यसैबीच नेपाली कांग्रेस शिवसतासी नगरपालिकाले वीपी जयन्तीकै अवसर पारेर वडा नं.३ स्थित पाराबारी बजार सरसफाई गरेको छ । ३ नं वडा कार्यालय परिसरमा ११० वटा फलफूलका विरुवा पनि रोपेको छ । नगरबासी कार्यकर्ताको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रम जिल्लाका सहसचिव कमल भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

कचनकबलमा भने ७ वटै वडामा वडास्तरमा वीपी जयन्ती मनाइएको छ । बृक्षरोपण लगायतका विविध कार्यक्रम गरी यो दिवस मनाइएको गाउँ सभापति तुलाराम अधिकारीले जानकारी दिएका हुन् ।

हल्दिबारीको १ नम्बर वडा सम्मेलन सम्पन्न गर्दै वीपी जयन्ती मनाइएको छ । वडा सभापति गोपालधन गुरुङको सभापतित्व एवं जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला प्रतिनिधि इन्द्रबहादुर कार्की, क्षेत्र नः३ ख का प्रदेश क्षेत्रीय सभापति तुलसी ओली, विर्तामोड १० का वार्ड अध्यक्ष दुर्योधन गुरुङ ,जिल्ला सदस्य निराजन दाहाल, महाधिवेशन प्रतिनिधिहरु वडाराम हेमरम, डम्वर सिगु, पालिका सभापति गंगा प्रसाईं लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित खबर