मेचीनगर । नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधारिनुको विकल्प नभएको बताएका छ्न् ।
नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश “क“ सम्मेलनको शनिबार काँकडभिट्टामा उद्घाटन गर्दै उनले कार्यकर्ताको कुरा नसुन्ने व्यक्ति नेता हुन नसक्ने बताए । पार्टी बिग्रनु र कमजोर हुनुको सम्पूर्ण दोष केन्द्रीय नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।
सहमहामन्त्री परियारले पार्टी बिग्रेको दोष कार्यकर्ताले लिन नसक्ने र त्यो उनीहरूको दायित्व नभएको पनि प्रष्ट पारेका छन् । अहिलेसम्म कोषाध्यक्ष चयन गर्न पार्टी केन्द्रले नसकेको सहमहामन्त्री परियारले स्वीकारे ।
उनले भ्रष्टाचारीको जात, गोत्र, थर र कुनै लिङ्ग नहुने भएकाले कारबाही गर्नुको विकल्प नभएको पनि सुनाए । “जुनसुकै व्यक्ति भएपनि भ्रष्टाचारी भ्रष्टाचारी नै हो’’ उनले भने, “भ्रष्टाचारीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन मिल्दैन ।’’
उनले पार्टीमा अलगअलग धारणा र दृष्टिकोण हुने भएपनि पार्टीमा सम्श्लेषण गरेर एक बनाउनुपर्नेमा जोड दिए । बिपीसँग सपना थियोे, समय थिएन तर हामीसँग समय भएर पनि सपना नभएको र काम गर्न नसकेको उनको भनाई छ ।
कार्यक्रममा काङ्ग्रेस कोशी प्रदेश सदस्य विमल आचार्यले देश र जनताको पक्षमा काङ्ग्रेस बाहेक कसैले काम गर्न नसक्ने दाबी गरे । चर्का, आक्रोश र अराजक कुरा गरेर काङ्ग्रेसलाई सुधार्न नसकिने आचार्यको भनाई छ ।
नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ प्रदेश क का सभापति हरि बुढाथोकीको सभापतित्वमा सप्पन्न कार्यक्रममा स्वागत उपसभापति गंगा कोइरालाले र संचालन सचिब इन्द्र आङ्देम्बेले गरेका थिए ।