कमल । तोपगाछी खानेपानी उपभोक्ता तथा सरसफाई समिति स्कीम नं ३ को अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।
समितिको आगामी ३ वर्षे कार्यकालका लागि आज शनिबार सम्पन्न मतदानबाट १८१ मत प्राप्त गरी न्यौपाने विजयी भएका हुन् । उनका प्रतिद्वन्दी दोलखबहादुर रायमाझीले १७७ मत प्राप्त गरेका थिए । न्यौपाने एमालेका तर्फबाट र रायमाझी गठबन्धनका तर्फबाट चुनावी प्रतिष्पर्धामा थिए ।
निर्वाचन समितिका संयोजक चक्रबहादुर गुरुङले दिएको तथ्याङ्क अनुसार कूल ५१८ जना मतदाता रहेको सो खानेपानी आयोजनाका ३६७ जनाले मतदान गरेका थिए । जसमध्ये ८ मत बदर भएको र १ मत निविदा मतपत्र रहेको थियो ।
त्यस्तै समितिको उपाध्यक्षमा यशोदा दाहाल, सचिवमा महेन्द्र अर्याल र कोषाध्यक्षमा बसन्तराज सुब्बा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका सदस्य हिमप्रसाद दहालका अनुसार उपभोक्ता समितिका सदस्यहरुमा उषा दहाल, लिलानाथ नेपाल, छविलाल पराजुली, नारायणप्रसाद प्याकुरेल र सीता कुरुम्बाङ सर्वसम्मत निर्वाचित भए ।
खानेपानी उपभोक्ता संस्थाको लेखा समिति संयोजकमा सूर्यप्रसाद न्यौपाने र सदस्य दुर्गाप्रसाद पराजुलीसमेत सर्वसम्मत निर्वाचित भएका छन् ।