मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाले १४औं वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ ।
संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउने निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो । निर्मलाले तीन वर्ष अघि विर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्मएकी थिइन् ।
संस्थाले रिजाल दम्पतिलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको सञ्जीवनी महिला विकास संस्थाका अध्यक्ष रेणुका डाँगीले बताइन् । चौध वर्ष अघि महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० जनाभन्दा धेरै महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाएको उनले जानकारी दिएकी छन् ।
संस्थाले विभिन्न संघ–संस्थासँगको सहकार्यमा गरीब, असहाय तथा विपन्न परिवारलाई सुधारिएको चुल्हो, लत्ताकपडा, खाद्यान्न, घर छाउनका लागि जस्तापाता लगायतका सामग्रीसमेत वितरण गरिएको अध्यक्ष डाँगीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा र मालाको सट्टा स्थानीय महिलाले उत्पादन गरेका क्रिष्टलका माला लगाएर स्वागत गरिएको थियो । संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको उनले बताइन् ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख पोखरेलले नगर क्षेत्रका महिलालाई स्वरोजगार बनाउन पालिकाद्वारा सीप सिकाउने तयारी भइरहेको बताइन् । महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको पालिकाले नै बजारीकरण गर्ने योजना रहेको उनको भनाई छ ।
कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहितकोषका कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघका महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारी लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका सचिव निर्मला काफ्लेले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष खिला खनालले गरेकी थिइन् । कार्यक्रममा तीजका गीतमा महिलाहरुले सामूहिक नृत्य गरी दर खाएका थिए ।