२०८२ असार १५, आइतवार , १०:४८:२६ बजे

Sajhamanch
'

ताप्लेजुङमा झण्डै ३ अर्ब बराबरको आलु उत्पादन

आइतवार, भदौ १७, २०८०

ताप्लेजुङ । आर्थिक वर्ष २०७९/८० मा ताप्लेजुङका किसानले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेका छन्।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आव २०७९/८० मा ताप्लेजुङका ५५ हजार २ सय ७९ मेट्रिक टन आलु उत्पादन भएको छ। १ मेट्रिक टनमा १ हजार किलोग्राम हुन्छ। सो अनुसार ताप्लेजुङमा आव २०७९/८० मा ५ करोड ५२ लाख ९७ हजार किलोग्राम आलु उत्पादन भएको छ।

ताप्लेजुङमा उत्पादनको सुरुमा सालाखाला ४० देखि ५० रुपैयाँ प्रतिकिलोग्रामका दरले आलु बिक्री हुने गरेको छ। राम्रो आलु प्रतिकिलो ६० रुपैयाँ सम्ममा नै बिक्री हुने गरेको किसानले बताएका छन्। सरदर ५० रुपैयाँ किलोका दरले हिसाब गर्ने हो भने ताप्लेजुङमा उत्पादित आलुको कूल मूल्य २ अर्ब ७६ करोड ४८ लाख ५० हजार रुपैयाँ हुन आउँछ। यहाँ प्रतिकिलो ५५ देखि ६० रुपैयाँ सम्ममा नै आलु बिक्री हुने गरेको छ। यो हिसाबले ताप्लेजुङका किसानले झण्डै ३ अर्ब बराबरको आलु उत्पादन गरेको देखिन्छ।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा आलुको उत्पादन समेत बढेको कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी विनय महर्जनले जानकारी दिए। उनका अनुसार यहाँ आव २०७८/७९ मा ५५ हजार १ सय ७६ मेट्रिक टन अर्थात् ५ करोड ५१ लाख ७६ हजार किलोग्राम आलु उत्पादन भएको थियो।

आव २०७९/८० मा १ लाख २१ हजार किलोग्राम बढी आलु उत्पादन भएको छ। ताप्लेजुङमा आव २०७९/८० मा ४ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएकोसमेत ज्ञान केन्द्रले जनाएको छ।

आव २०७८/७९ मा भने ४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो। आव २०७९/८० मा आलुको उत्पादकत्व १२.९५ मेट्रिक टन प्रति हेक्टर रह्यो। आव २०७८/७९ मा उत्पादकत्व १२.९४ मेट्रिक टन प्रति हेक्टर थियो।

सम्बन्धित खबर