![](https://sajhamanch.com/wp-content/uploads/2023/08/bishrampur-npa-Transformer-1024x576-1-e1693388425721.jpg)
जनकपुरधाम । धनुषामा पछिल्लो समय विद्युट ट्रान्सफर्मर चोरीको घटना बढेको छ । २४ घण्टाभित्रै धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाबाट दुईवटा टान्सफर्मर चोरी भएको छ ।
मंगलबार राति बटेश्वर गाउँपालिका-५ शान्तिपुरस्थित खेतमा सिँचाइको लागि जडान भएको ५० केभीएको ट्रान्सफर्मर चोरी भएको हो । ११ हजार भोल्टको तारमा सर्ट गराइ लाइन काटेर ट्रान्सफर्मर चोरी गरेको महेन्द्रनगर वितरण केन्द्रका प्रमुख रोशन सिंहले बताए ।
यसअघि सोमबार राति मात्रै मिथिला नगरपालिका(२ नक्टाझिजको हजराचोक स्थितबाट २५ केभीको ट्रान्सफर्मर चोरी भएको थियो । प्राधिकरण वितरण केन्द्र प्रमुख सिंहका अनुसार स्थानीय जनता माध्यमिक विद्यालयमा जडान भएको टान्सफर्मर पनि ११ हजार भोल्टमा सर्ट गरी लाइन काटेर चोरेका थिए ।
जनकपुर ढल्केवर सडक खण्डको छेउमै रहेको टान्सफर्मर चोरले भुइँमा झारेर क्वाइल चोरी गरेका थिए । एक साताअघि असार ७ गते राति मिथिला नगरपालिका-५ स्थित विश्रामपुरमा जडान गरिएको खानेपानीको २५ केभीको टान्सफर्मर चोरी भएको थियो ।
त्यसअघि मिथिला नगरपालिका २ र ५ को सिमानामा पर्ने श्रीपुरमा रहेको सिँचाइ बोडिङमा जडान गरिएको टान्सफर्मर चोरी भएको थियो । करिब दुई महिनाअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुरस्थित सिँचाइको लागि भर्खरै जडान भएको टान्सफर्मर चोरिएको थियो ।
पछिल्लो समय सिँचाइ, खानेपानी, विद्यालय लगायतमा जडान गरिएको टान्सफर्मर चोरी हुने क्रम बढेको छ । तर, प्रहरीले चोर पक्राउ गर्न गम्भीरतापूर्व अनुसन्धानमा ध्यान नदिएको महेन्द्रनगरको वितरण केन्द्र प्रमुख सिंहको गुनासो छ ।
‘टान्सफर्मर चोरीको घटना बढेको छ । ११ हजार भोल्टको तारमा सर्ट गरी लाइन काट्ने र टान्सफर्मर झारेर तामाको क्वाइल चोर्ने गरिन्छ’, प्रमुख सिंहले भने ।
उनका अनुसार टान्सफर्मरको क्वाइल महंगोमा बिक्री हुन र पक्राउ पनि नपर्ने कारण चोरीको घटना बढेको हो ।
‘प्रहरीले गम्भीरतापूर्वक टान्सफर्मर चोरीको घटनाको अनुसन्धान गर्दैन । चौरमा जडान गरिएको टान्सफर्मर चोरीको घटनाको बेलाको मोबाइल ट्रयाक गर्यो भने चोर समातिने सम्भावना बढी हुन्छ । तर, प्रहरीले खासै ध्यान दिँदैन । जसले टान्सफर्मरहरु असुरक्षित बनेको छ’, उनले भने ।
यता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीले चोरी घटनाको विस्तृत विवरण नआउँदा अनुसन्धानमा समस्या भएको बताए । राति चोरी भएको टान्सफर्मरको लागि अनुसन्धान टोली आउन लागेको उनले बताए ।
‘चोरी घटनाको विस्तृत विवरण नै आउँदैन । अनुसन्धान गर्न कठिनाइ हुन्छ । एउटा एउटा टान्सफर्मरलाई सुरक्षा दिन बसेर हुँदैन’, प्रहरी निरीक्षक कार्की भन्छन्, ‘कहाँ कहाँ टान्सफर्मर जडान भएको छ, कुन कुन जोखिममा छ मैले लिस्ट मागेको छु, यसो हुँदा सुरक्षा दिन सजिलो हुन्छ ।’
चोरी भएको घटनाको बेला थुप्रै मोबाइलमा नेटवर्क कनेक्ट हुने देखिएकाले अनुसन्धान गर्न अप्ठेरो भएको उनले बताए । चोर समात्न क्वाइलको बिक्री हुने सम्भावित पसलमा पनि निगरानी गरिरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।