अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञलाई फिल्म ‘ऐंचो पैंचो’ हेर्न आग्रह गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रिमियरमा नेतालाई देख्ने गरेको गरेको भए पनि हलमै पुगेर फिल्म हेर्न आग्रह गरिन् ।नेतालाई फिल्म हेर्न आग्रह गर्दै उनले भनिन्, ‘कतिपय सन्दर्भमा उहाँहरूले समाजमा नदेख्नुभएको कुरा हामीले हाम्रो क्यामेराबाट देखाइरहेका हुन सक्छौं । त्यसैले ऐंचोपैंचो हेर्न म उहाँहरुलाई आग्रह गर्छु ।’
गसिप र कन्ट्रोभर्सी सिर्जना गरेर आफू फिल्म चलाउने पक्षमा नरहेको भन्दै स्वस्तिमाले फिल्म राम्रो बनेको दाबी गरिन् । यो फिल्मबाट प्रस्ताव आएपछि आफूले सुरुमा निर्देशकसँग विचार मिल्छ कि मिल्दैन भनेर केही दिन कार्यशालामा बसेपछि मात्रै एकिन गरेर साइन गरेको जानकारी दिइन् ।केही दिनअघि नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ‘ऐंचो पैंचो’ हेर्नुपर्ने फिल्म भएको भन्दै यो फिल्मले दलका नेतालाई सच्चिन सन्देश दिने बताएका थिए । ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने भनाइ रहेको अवस्थामा खराब बाटोमा रहेका राजनीतिकर्मीलाई पनि सच्चिन यो फिल्मले सन्देश दिने कुरामा आफू ढुक्क रहेको आलेले बताएका थिए ।
कार्यक्रममा अभिनेत्री वर्षा राउतले फिल्ममा आफ्नो छोटो तथा अर्थपूर्ण भूमिका रहेको बताइन् । सबै कलाकारको उत्तिकै प्रयत्न भएकाले फिल्म राम्रो बनेको उनले बताइन् । अभिनेता मुकन भुसालले भने, ‘मैले धेरै फिल्म त गरेको छैन । तर स्क्रिप्ट राम्रो भयो भने काम गर्छु । कुन रोलमा को छ भन्दा पनि समग्रमा फिल्म राम्रो हुनुपर्छ । त्यो भयो भने सबैलाई राम्रो हुन्छ ।’ उनले फिल्मको बजार विस्तारका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।यो फिल्ममा सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतको अभिनय छ । अभिमन्यू निरवीको पटकथा रहेको फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन् ।