२०८२ असार २९, आइतवार , ०४:४४:४७ बजे

Sajhamanch
'

१२८ मेगावाटको तमोर–मेवाको बिद्युत खरिद बिक्री दर निर्धारणको तयारी

आइतवार, भदौ १०, २०८०

ताप्लेजुङ । निर्माणको अन्योलतालाई चिर्दै १२८ मेगावाट क्षमताको तमोर–मेवा जलबिद्युत आयोजना अब भने अघि बढ्ने भएको छ। आयोजनाबाट उत्पादन हुने बिद्युत खरिद बिक्री दर निर्धारण र सरोकारवालाको राय सुझाव र प्रतिक्रिया लिन आयोजनाको प्रवद्र्धक स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले भदौ २९ गते सार्वजनिक सुनुवाई कार्यक्रम तय गरेको छ।

बिद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह,बिद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र आयोजना प्रवद्र्धक संस्था पार्क हाईड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बू सहितको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम तय गरिएको छ। ‘यो कार्यक्रमसंगै आयोजनाको निर्माण चरणको मार्गप्रसस्त हुने छ’लिम्बूले भने। उनका अनुसार असोज महिना भित्रमा बिद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न हुने छ। त्यसपछि आयोजना निर्माणको चरणमा प्रवेश गर्ने समेत उनले जानकारी दिए । १२८ मेगावाटको यो आयोजना रन अफ रिभर प्रकृतिको आयोजना हो।

‘उर्जाशिल,गतिशिल र काममा निपूर्णताको क्षमता भएका व्यक्तिहरुको प्रवेशले प्रवद्र्धक टीम हर्षित छ’ लिम्बूले भने। यो आयोजना ताप्लेजुङ जिल्लाको आठराईत्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहको छ। आयोजनाको कुल लागत २४ अर्ब २३ करोड अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणबाट प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ रहेको छ।

प्रस्तावित आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि हुनेगरी प्रस्ताव गरिएको छ । आयोजनाबाट उत्पादन हुने कूल बिद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ । बर्षा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने प्रक्षेपण गरिएको छ । मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो । २०७७ साल असोज २५ गते बिद्युत विकास विभागबाट १ सय २८ मेगावाट क्षमताको बिद्युत उत्पादनका लागि स्पार्कले अनुमति पाएको हो। स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ,वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका सबै कार्य सम्पन्न गरिसकेको छ। त्यसपछि ‘प्रकृयामा’रहेको बताउँदै आएको स्पार्क अब भने बिद्युत खरिद सम्झौता चरणको आधार प्रवेश गरेको छ। लामो समय देखि निर्माणको चर्चा भएको तर सधैं उल्झन खेपीरहेको स्पार्कले अब निर्माणको आधार टेकेसंगै स्थानीय भने खुसी भएका छन्।