२०८१ पौष ५, शुक्रवार , १०:१५:३७ बजे

Sajhamanch
'

कथाकार दाहालको पहिलो संग्रह ‘परिचय’को लोकार्पण

शनिवार, भदौ ९, २०८०

भद्रपुर । शालिकराम दाहालले पहिलो कृतिका रूपमा प्रकाशन गरेको कथा संग्रह ‘परिचय’ आज शनिबार लोकार्पण गरिएको छ ।

लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले सो कथा संग्रह सार्वजनिक गरेका हुन् ।

लेखनाथ पुस्तकालयका सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक चूडामणि वशिष्ठले कथा संग्रह भित्र नेपाली समाजका विसंगति माथि प्रहार गर्दै संगति खोज्ने प्रयास भएको बताए ।

समीक्षक वशिष्ठले कथा संग्रहले वैदेशिक रोजगारबाट सिर्जित समस्या, राजनीति भित्रका पाखण्डीपन, सामाजिक तथा जातीय विभेद, गाउँले जनजीवन र बोलीचाली टिपेर तयार भएको विश्लेषण गरे । परिचयभित्रका कथाहरुले सांकेतिक राष्ट्रवाद समेटे पनि अहिलेको थेत्तरो सामाजिक विकृतिलाई ठेगान लगाउन नसकेको टिप्पणी पनि गरे ।

खगेन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तक भित्रका समीक्षक प्रा. डा. गंगाप्रसाद अधिकारी तथा सहप्राध्यापक देवीप्रसाद आचार्यले कथाकारको पहिलो कृति भए पनि विषय उठानमा अब्बल रहेको धारणा राखे ।

पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रममा विभिन्न कविहरूले आ—आफ्ना कविता वाचन गरेर सुनाएका थिए ।

भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका विद्यार्थी तथा सेन्ट जेभियर स्कूल विर्तामोड ८ देउनियाका नेपाली भाषा शिक्षकसमेत रहेका कथाकार दाहालले वर्तमान समयको चित्रण गर्दै १० वटा कथालाई पुस्तकाकार रूप दिएर तयार पारेका हुन् ।

उनले कथामा जीवनका व्यथालाई टिपेर यथार्थ चित्रण गर्ने प्रयास गरेको भन्दै पहिलो कृतिमा केही कमी कमजोरी हुन सक्ने स्वीकार गरेका छन् ।

सम्बन्धित खबर