२०८१ असोज ३, बिहिवार , १२:०६:५६ बजे

Sajhamanch
'

साहित्य चौतारीद्वारा दुई जना स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान

मङ्गलवार, भदौ ५, २०८०

बिर्तामोड । साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

साहित्यको विकास र प्रवद्र्धनमा अहोरात्र लागेका दुई विशिष्ट प्रतिभालाई दीर्घ साधना सम्मान प्रदान गर्न पाउँदा खुशी लागेको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘अविच्छिन्न साहित्य साधना र लेखन कर्ममा संलग्न हुनु चानचुने कुरा होइन’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने ।

वरिष्ठ आख्यानकार पून्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा आयोजना भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार खरेलले स्रष्टा सर्जकको योगदानलाई सम्झिने साहित्य चौतारीले लिएको नीति प्रशंसनीय रहेको बताए ।‘देवीभक्त जीले साहित्य चौतारीलाई यहाँसम्म ल्याउन जुन भूमिका र लगानी गर्नु भएको छ, सायदै अरुले गर्दैन्’, कार्यक्रममा प्रमुख अतिथि खरेलले भने, ‘भाषाकला र साहित्यको विकासका लागि सरकारी तहले पनि यत्तिको लगानी गरेका छैनन् ।’

रजत वर्ष मनाइँदै
२०५६ सालमा स्थापना भएको साहित्य चौतारीले रजत वर्ष मनाइरहेको छ । रजत वर्षका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

स्थापना हुँदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारीको उद्घाटन गरेका थिए । साहित्य चौतारीले सधैँ राष्ट्रकविलाई सम्झदै आएको छ ।

सोमवारको मासिक सांगीतिक काव्यसभामा पनि राष्ट्रकविका रचना गुञ्जिएका छन् । उनको तेस्रो स्मृति दिवस पनि हो । साहित्य चौतारीको स्थापनामा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान भएको संरक्षक श्रेष्ठले बताए । कार्यक्रममा आर्ट स्टुडियो चारपानेको महिला टोलीले पञ्चेबाजा बजाएको थियो ।

‘जन्मदिनमा बत्ती निभाएर केक काट्नु गलत’
सम्मानित प्रतिभा हरिचरण बानियाँ नेपाली समुदायले आफ्नो परम्परागत संस्कृति बिर्सिन थालेको बताउँछन् । कार्यक्रम उनले बत्ती निभाएर जन्मदिन मनाउने नेपालीको परम्परा हुन नसक्ने बताए ।

‘केक काट्ने र बत्ती निभाउने चलन हाम्रो होइन’, बानियाँले भने, ‘यसलाई हामीले छोड्नु पर्छ ।’ अंकल, आन्टी र सर म्याडमका नाममा सबै साइनो र सम्वन्धहरु सकिएको स्मरण गर्दै बानियाँले यसमा सचेत हुने बेला आएको बताए ।

साहित्यकार भवानी क्षेत्री कार्यक्रममा खादाको प्रयोग घटाउँदै लैजानु पर्ने बताउँछिन् । सम्मानस्वरुप विभिन्न संस्थाले खादा लगाइदिने गरेको स्मरण गर्दै क्षेत्रीले भनिन्, ‘खादा यतिधेरै भइसके । त्यसको उपयोगिता गर्न मुस्किल छ । डढाउँदा पनि विषादीयुक्त धूँवा निस्किने हो ।’

सम्बन्धित खबर