
काठमाडौं । संसारमा सबैभन्दा बढी बिक्रि हुने फलफूलमा स्याउ अग्रपंक्तिमा आउने गर्छ । स्वस्थ होस् वा बिरामी, सबैलाई चिकित्सकहरुले स्याउ खान सल्लाह दिन्छन् । दैनिक एउटा स्याउ खाँदा धेरै रोग नियन्त्रण हुने विभिन्न अनुसन्धानले देखाएका पनि छन् ।
यस्तै विविध कारणले गर्दा नेपालमा पनि पछिल्ला वर्षहरुमा स्याउको माग बढ्दो छ । देशभित्रको उत्पादनले नधानेपछि नेपालले वर्षेनी अर्बौँ रुपैयाँको स्याउ विदेशबाट आयात गर्ने गरेको छ ।
भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा नेपालले ३० अर्ब ८४ करोड ९८ लाख ४१ हजार रुपैयाँको स्याउ आयात गरेको छ । उक्त अवधिमा विभिन्न देशबाट नेपाललमा ३९ करोड ७६ लाख नौ हजार ४८७ केजी स्याउ भित्रिएको छ ।
औषतमा नेपालले एक केजी स्याउ ७७।५८ रुपैयाँमा आयात गर्ने गरेको विभागको पछिल्लो पाँच वर्षको तथ्याङ्कले देखाउँछ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सात अर्ब नौ करोड ४४ लाख ७७ हजार रुपैयाँको स्याउ आयात गरेको थियो । उक्त मूल्यमा आठ करोड ३२ लाख ७४ हजार ३३१ केजी स्याउ नेपाल भित्रिएको थियो ।
गत वर्ष चीन, भारत, अमेरिका र स्विट्जरल्यान्डबाट नेपालले स्याउ आयात गरेको थियो । गएको आर्थिक वर्ष चीनबाट पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ, भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार रुपैयाँ, अमेरिकाबाट ५० लाख ३४ हजार रुपैयाँ र स्विट्जरल्यान्डबाट २७ लाख २० हजार रुपैयाँको स्याउ नेपाल आएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले सात अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ आयात गरेको विभागले जनाएको छ । सो रकममा आठ करोड ६७ लाख ९६ हजार १९ केजी स्याउ नेपाल भित्रिएको थियो ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालले सात अर्ब पाँच करोड ३७ लाख ३८ हजार रुपैयाँको स्याउ आयात गरेको थियो । उक्त वर्ष विभिन्न देशबाट आठ करोड ९० लाख ५८ हजार ६७ केजी स्याउ नेपाल भित्रिएको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा चार अर्ब ६० करोड ८४ लाख २९ हजार रुपैयाँको स्याउ नेपालले आयात गरेको थियो । सो रकममा ६ करोड ५२ लाख ५० हजार आठ केजी स्याउ नेपाल भित्रिएको थियो ।
विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा चार अर्ब ९३ करोड ४३ लाख ४३ हजार रुपैयाँको सात करोड ३२ लाख ३१ हजार ६२ केजी स्याउ भित्रिएको थियो ।