२०८१ माघ २६, शनिवार , ११:३५:४६ बजे

Sajhamanch
'

मकवानपुरमा पहिरोमा बगेका व्यक्ति १४ घण्टापछि जीवितै भेटिए

मङ्गलवार, साउन २३, २०८०

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता भएका ६ मध्ये एक जना जीवित भेटिएका छन् ।

जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिए ।

वाइवाका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा फेला पारिएको हो ।

घिसिङलाई पहिरोले बगाएको घरभन्दा निक्कै तल खोलामा फेला पारिएको हो । ‘खोलामा एक ठाउँ उकास भएको जमिन रहेछ, उनी त्यही उकास भएको जमिनमा फेला परेका हुन्’ वाइवाले भने ।

उनी पाहुना लागेको मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घर पहिरोले बगाएको थियो । जसमा ५ जना अझै बेपत्ता छन् ।

स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी, ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी वेपत्ता रहेको वाइवाले बताए ।

अक्कलबहादुरकी श्रीमती शन्तमायाको भने पहिरोमा परेर मृत्यु भएको वाइवाले बताए ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

सम्बन्धित खबर