२०८१ मंसिर १४, शुक्रवार , ०१:३६:४१ बजे

Sajhamanch
'

साधुहोली सिमसार पर्यटकीय क्षेत्र निर्माण : पहिलो गाँसमै ढुंगा

शनिवार, साउन २०, २०८०

कमल । कमल गाउँपालिका वडा नं. ५ स्थित साधुहोली सिमसार निर्माणमा भएको खर्चको विषयलाई लिएर समिति भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अहिले आरोप प्रत्यारोप सुरु भएको छ ।

साधुहोली सिमसार पर्यटकीय क्षेत्रको विकासका लागि गत आर्थिक वर्ष २०७९/८० मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत ३० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । उक्त कामको डिपिआर अनुसार ३० रुपैयाँ प्राप्त भए पनि १४ लाख रुपैयाँमा नै काम सम्पन्न भएको र बाँकी रहेको रकमको हिसाब नमिलेपछि समितिको विवाद उत्कर्षमा पुगेको हो ।

समिति भित्र हिसाब नमिले पछि विवाद सिर्जना भएको बताउँदै उपभोक्ता समितिका सचिव नवीन भट्टराईले राजिनामा बुझाइसकेका छन् । काम सम्पन्न भएपछि हिसाब फर फारकका लागि निर्माण समितिका अध्यक्षले समितिमा बिल भरपाई पेस नगरेका कारण समिति भित्र विवाद चुलिएकाले आफूले राजिनामा दिएको उनको तर्क छ ।

‘काम सम्पन्न भयो, अब सबै बिल भरपाई भेला गर्नुहोस् । समितिमा बसेर छलफल गरी हिसाब सार्वजनिक गरौं भनेर पटक पटक अध्यक्षलाई अनुरोध गर्दा पनि उहाँले पारदर्शी काम गर्न नचाहेकाले आफूले समितिको सचिव पदबाट राजिनामा बुझाएको हुँ’ समितिका सचिव भट्टराईले प्रष्ट पारेका छन् ।

साधुहोलीमा पानी रोक्नका लागि ड्याम निर्माण, पानी निकासको प्वाल, माटो पुराई लगायतको काम सम्पन्न भएको छ । सो कामको लागि इस्टमेटको रकमभन्दा आधा बजेट १४ लाख २५ हजार रुपैयाँमा नै निर्माण सम्पन्न भएको छ । आधा रकम मै स्टमेटमा उल्लेख गरिएकोभन्दा राम्रो र धेरै काम भएको देखिन्छ । तर निर्माण समितिका अध्यक्षले वास्तविक खर्च देखाउन नसकेका कारण समस्या आएको अनुगमन समितिका संयोजक पुष्प न्यौपानेको भनाई छ ।

साधुहोली निर्माणका लागि भएको यथार्थ खर्च सार्वजनिक गर्न सम्बन्धित वडाध्यक्षलाई पनि पटकपटक स्थानीयले अनुरोध गर्दा हिसाब सार्वजनिक हुन सकेको छैन । यसले उपभोक्ता समिति माथि अझ स्थानीयले शंका गर्नु स्वभाविक भएको स्थानीय वीरबहादुर चेम्जुङ्ग बताउँछन् ।

वडाध्यक्ष लालबहादुर विष्टले ‘आफ्नै अग्रसरतामा उपभोक्ता समिति गठन गरिदिएको तर यसभन्दा बाँकी आफूलाई कुनै पनि जानकारी नभएको’ जिकिर गर्दै आएका छन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आफैं ठेक्का लगाएको हो । अनुगमन गर्ने, बिल पास गर्ने वा नगर्ने सबै काम सोही निकायको हो । यसको अनुगमन गर्ने अधिकार आफूलाई नभएको र विवाद चुलिँदै गएको थाहा पाएपछि उपभोक्ता समितिलाई पटकपटक वास्तविक हिसाब सार्वजनिक गर्न आफूले पनि अनुरोध गरेको वडाध्यक्ष विष्टले जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष आइतबहादुर साम्वाहाम्फेका अनुसार साधुहोली निर्माणमा २३ लाख रुपैयाँ खर्च भएको छ । यस कार्यका लागि आफूले २० लाख ६० हजार रुपैयाँमात्र लिएको र बाँकी रहेको भुक्तानी लिएपछिमात्र हिसाब फरफारक गर्ने सोचेर काम साँचेको बताए ।

आफूले राम्रो काम गर्दागर्दै पनि राजनीतिक दाउपेचकाका कारण यो समस्या आएको जिकिर गर्दै अध्यक्ष सम्बाहाम्फेले भने, ‘आफूसँग होली निर्माणमा भएको यथार्थ खर्च विवरण तयार छ । तर विवाद बढेकाले सार्वजनिक गर्न सकिएको छैन । यो विवाद गाउँपालिकासम्म पुगेको छ । अब गाउँपालिकाको निर्देशन अनुसार हिसाब सार्वजनिक गर्न म तयार छु ।’

साधुहोली सिमसार पर्यटकीय क्षेत्र निर्माणमा राज्यबाट पनि सहयोग आउनु, गाउँपालिका र वडा कार्यालयबाट पनि सकारात्मक सहयोग भइरहँदा यसका प्रारम्भिक लाभग्राहीहरु नै आर्थिक अपचलनको दोषारोपणमा उत्रिँदा पर्यटकीय क्षेत्रका प्रवद्र्धनका लागि पहिलो गाँसमै ढुंगा सावित भएको छ । अब गाउँपालिकाले हस्तक्षेप गरी हालसम्मको आयब्यय सार्वजनिक गराई निर्माण उपभोक्ता समिति परिवर्तन गर्नु नै हितमा हुने देखिन्छ ।

सम्बन्धित खबर