ताप्लेजुङ । ताप्लेजुङमा करिव १५ वर्ष अघिदेखि थन्किएको रक्तचन्दन अहिले सम्म व्यवस्थापन हुन सकेको छैन।
भारतबाट नेपाल भित्र्याएर चीनतर्फ अवैध रुपमा चोरी निकासी हुने क्रममा १५ वर्ष अघि प्रहरीले जफत गरेको रक्तचन्दन त्यत्तिकै थन्किएको हो। त्यसबेला ताप्लेजुङ हुँदै चीनको तिब्बततर्फ अवैध निकासीको क्रममा प्रहरीले जफत गरेको दुई हजार किलोग्राम बढी रक्तचन्दन डिभिजन वन कार्यालयको एक गोदाममा थन्किएको छ।
सदरमुकाम फुङलिङ नजिक दोखु क्षेत्रबाट अवैध निकासी हुने क्रममा प्रहरीले कुल २ हजार २ सय १५ किलोग्राम रक्तचन्दन बरामद गरेको थियो। प्रहरीले बरामद गरेको उक्त परिमाणको रक्तचन्दन तत्कालिन जिल्ला वन कार्यालय ताप्लेजुङलाई बुझाइएको थियो। २०६५ साल बैशाख ५ गते बरामद भएको उक्त रक्तचन्दन सुरुमा वन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयको एक भवनमा थन्क्याएर राखिएकोमा केही वर्षपछि वन कार्यालयमा नै सारिएको थियो। हाल डिभिजन वन कार्यालय भवनको एक कोठामा भण्डारण गरी राखिएको रक्तचन्दनको हालसम्म व्यवस्थापनबारे कुनै निर्णय हुन नसक्दा सडिने अवस्थामा पुगेको छ।
सुरुमा नेपाल सरकार र भारत सरकारबीच बरामद रक्तचन्दन फिर्ता लैजानेबारे चर्चा चलेपनि ठोस निर्णय हुन नसक्दा अहिले राखेकै ठाउँमा सडिने अवस्थामा पुगेको हो। डिभिजन वन कार्यालय ताप्लेजुङका डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहले आफ्नै कार्यालय भवनको एउटा कोठामा थन्क्याएर राखेको रक्तचन्दन कहिलेसम्म राख्नुपर्ने भन्ने बारेमा आपूmलाई केही थाहा नभएको बताए। दूर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि अनुसार जुन देशबाट ल्याइएको हो त्यही देश पठाउनुपर्ने नियम रहेको छ। वन कार्यालयका अनुसार रक्तचन्दन राखिएको कोठामा वन कार्यालयसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको समेत तीनवटा ताल्चा लगाइएको छ।
भारतबाट रक्तचन्दन नेपालको बाटो हुँदै चीनको तिब्बततर्फ अवैध निकासी हुने गरेको थियो। त्यसबेला रक्तचन्दनको मूल्य प्रति किलोग्राम ८ सय रुपैंयाँ रहेको थियो। अहिले सम्म भण्डारण गरी राखिएको रक्तचन्दनबारे माथिल्लो तहको निर्णय पर्खिएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ। डिभिजन वन कार्यालयका नायव सुब्बा युवराज पौडेलले माथिल्लो निकायबाट प्राप्त भएको पत्रका आधारमा नेपालभर १ लाख २५ हजार ३ सय ६१ किलोग्राम रक्तचन्दन बरामद भई व्यवस्थापन हुन बाँकी रहेको देखिने जानकारी दिए।