२०८१ असोज ४, शुक्रवार , ०२:४७:५७ बजे

Sajhamanch
'

सिक्री चोर्न बालक प्रयोग, पर्साका ३ जना बालक मोरङमा पक्राउ

आइतवार, साउन १४, २०८०

विराटनगर । दिनदहाडै सिक्री चोरेर भाग्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरबाट एक बालकसहित पर्साका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका-६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक छन् ।

शनिबार बेलुका सुलकपुरस्थित बजारमा तरकारी किन्दै गरेकी सुन्दरहरैँचा-९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री चोरेका थिए ।

बजारमा सिक्री चोरेर भागेका उनलाई स्थानीयले पक्रिएर प्रहरीको जिम्मा लगाए । तर, उनको साथमा सिक्री भेटिएन् । बजारमा उनको नजिकै रहेका १० वर्षीय बालकको साथबाट सिक्री भेटियो । बालक बिशाल र उमेश चोरी हुनुअघि सँगै थिए ।

विशालले सिक्री चोर्नासाथ १० वर्षीय बालकलाई थमाइदिएर भागेको प्रहरीले बताएको छ । प्रहरीले बालकको साथबाट सिक्री बरामद गरेपछि उनीसँगै रहेका उमेशलाई पनि नियन्त्रणमा लियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा तीनै जना पर्साबाट योजनावरुद्ध रुपमा चोरीका लागि आएको देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

‘बालकलाई प्रयोग गर्नुले सिक्री चोर्नका लागि योजनावरुद्ध रुपमा आएको देखिन्छ,’ उनले भने, ‘यसअघि विराटनगरमा पनि सिक्री चोरीको घटनामा बालकको प्रयोग भएको थियो ।’

बालकलाई शंका नगर्ने र सजाय पनि कम हुने भएकाले यसरी प्रयोग गरेको देखिएको उनले बताए । ‘कानुनको छिद्र प्रयोग गर्दै बालकलाई यस्तो घटनामा संलग्न गराएको देखिन्छ,’ उनले भने ।

सिक्री चोरेको आरोपमा पक्राउ परेकाहरु होटलमा बस्ने र गाडीमा हिड्ने गरेको देखिएको प्रहरीले बताएको छ । अन्य चोरीको घटनामा पनि संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

सम्बन्धित खबर