
इलाम । जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई-दुई लाख रुपैयाँ जरिवाना गराएको छ। ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि प्रशासनले नवीन चोकको दुर्गा मेडिकल र नजिकैको माइपोखरी डेन्टल क्लिनिकलाई जरिवाना गराएको हो।
केही दिनअघि गरिएको अनुगमनमा दुर्गा मेडिकलमा पाँच सय मिलिलिटरका चार बोतल र माइपोखरीमा पाँच बोतल यस्तो औषधि फेला परेको थियो। ‘मूल्य नै नलेखिएको र ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको औषधि पसलमा राखेर बेच्न कानुनले दिँदैन,’ सहायक सिडिओ ध्रुव कोइरालाले भने, ‘प्रशासनले जरिवाना गराएको छ, बाँकी अनुसन्धान स्वास्थ्य विभागले गर्नसक्छ।’
दुर्गा मेडिकलमा इलाम अस्पतालको फार्मेसीमा कार्यरत पशुपति चौधरीसमेत संलग्न रहेको स्रोतले जनाएको छ। तर, इलाम अस्पतालले भने अस्पतालमा आएको कुनैपनि औषधि अवैध रूपमा बाहिर नगएको र अनुगमनमा भेटेको भनिएको औषधि अस्पतालको फार्मेसीमै नभएको जनाइसकेको छ।