२०८१ मंसिर १०, सोमवार , ०८:५२:०२ बजे

Sajhamanch
'

झापाको महत्वपूर्ण जानकारी समेटिएको पात्रो–पुस्तक प्रकाशनमा

मङ्गलवार, साउन ९, २०८०

भद्रपुर । प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने खेमराज दाहालले झापा जिल्ला भित्रका महत्वपूर्ण जानकारी समेटेर पात्रो–पुस्तक प्रकाशन गरेका छन् । पुस्तकको आकारभन्दा भिन्न प्रकृतिको र फरक शैलीमा प्रकाशित उक्त सामग्रीको नाम झापाको प्रतिबिम्ब राखिएको छ ।

झापाका १५ वटै स्थानीय तहलाई समेटेको पुस्तकले जनप्रतिनिधि, भौगोलिक अवस्था, पेशा व्यवसायको अवस्था, पर्यटकीय क्षेत्र, जल जमीन र जंगलको अवस्था, साहित्य कलाको पहिचान, राष्ट्रिय महत्वका विषयलाई विशेष ज्ञान प्रवाह गर्ने गरी संकलन गरिएको छ ।

भित्तामा झुण्ड्याउने क्लालेण्डरजस्तो आकृतिमा प्रकाशित सामग्रीलाई पात्रो–पुस्तक भन्दा अत्युक्ति नहोला । जसमा संग्रहित सामग्रीले झापालाई चिनाउने प्रयास गरेको देखिन्छ । लेखकका शब्दलाई सापटी लिँदा ‘पुस्तक तथ्यमा आधारित इतिहासदेखि वर्तमानसम्मको सत्य दस्तावेज हो ।’

शब्द र चित्रको मिश्रणबाट तयार गरिएको पुस्तकले झापालाई जीवन्त राख्ने प्रयास गरेको पाइन्छ । पुस्तक पल्टाउँदै जाँदा पाठकले अल्छी नलाग्दै पढिसक्न पाउने छन् । यसमा लेखिएका सामग्रीहरु तथ्यमा आधारितमात्र छैनन् सम्बन्धितका सम्पर्क नम्बर, सम्बद्ध व्यक्ति, स्थानको पर्याप्त जानकारी समेटिएको छ ।

झापाका कुनै पनि स्थानीय सरकार तथा जनप्रतिनिधिसँग सम्पर्क गर्न नम्बरहरु पनि दिइएको छ । घुम्न, हेर्न वा डुल्न जाने पर्यटकीय स्थालको सूचि छनौटमा यो पुस्तक महत्वपूर्ण सामग्री बन्ने देखिन्छ ।

लेखक दाहाल कम्प्युटर प्राविधिक हुन् । उनले सिर्जना गरेको पहिलो सामग्री छोटो छरितो र सरल भाषा शैलीमा तयार भएको छ । विद्यालय तहका बालबालिकादेखि सरकारी जागिर खान चाहने युवासम्मलाई अति आवश्यक हुन सक्ने सामग्रीहरु यसमा संग्रहित छन् ।

लेखक दाहाल मेचीनगर ३ बाहुडाँगीमा वि. सं २०३४ चैत्र २१ जन्मिएर त्यहीँको माटोमा हुर्केका हुन् । अहिले रोजगारीको शिलसिलामा उनी भद्रपुर ७ मा बसोबास गर्छन् । उनले आफ्नो जन्मभूमि झापालाई चिनाउन पुस्तक मार्फत निकै मेहेनत गरेको पाइन्छ ।

सम्बन्धित खबर