२०८१ मंसिर ११, मङ्गलवार , ०४:१२:३३ बजे

Sajhamanch
'

ट्राफिक प्रहरीले चेकिङ बोर्ड नराख्दा झापामा एक युवकको दुर्घटनामा मृत्यु

बिहिवार, साउन ४, २०८०

झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको ब्यस्त सडकमा ट्राफिक प्रहरीले बिना संकेत सवारी साधन चेकजाँच गर्दा आज बिहान एक युवकले ज्यान गुमाउनु परेको छ । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरमा आज बिहान सडकमा हातको इशाराले सवारी रोक्न भनिरहेका ट्राफिक प्रहरीलाई देखेर सवारी अनियन्त्रित हुँदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको हो । उक्त घटनापछि दुर्गापुरचोक आज बिहानभर तनावग्रस्त रहेको थियो ।

ट्राफिक प्रहरीको चेकजाँच छल्न भाग्ने क्रममा अर्को सवारी साधनसँग जुध्दा उक्त दुर्घटना भएको बताइएको छ । मृत्यु हुने मोटरसाइकल चालक झापा गौरादह नगरपालिकाका ३० वर्षीय कुमार दर्जी रहेको थाहा भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १—०१—०१६ प ५०९८ नम्बरको मोटरसाइकलमा सवार दर्जी सडकमा चेकिङ गरिरहेको ट्राफिकलाई छलेर भाग्न खोज्दा सो दुर्घटना भएको प्रारम्भिक जानकारी दिइएको छ । विपरित दिशाबाट आइरहेको प्र १—०१—००१ च ७४०७ नम्बरको पिकअप भ्यानसँग उक्त मोटरसाइकल ठक्कर खाएको थियो । दुर्घटनामा मोटरसाईकल चालक दर्जीको उपचारका क्रममा आज बिहान साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले बिना सूचना बोर्ड तथा बिना सावधानी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै स्थनीयले १ घण्टा सडक अवरुद्ध पारेका थिए । प्रहरीको टोलीले स्थानीय जनप्रतिनिधि सामाजिक व्याक्तित्व लगायातको समन्वयमा सडक सुचारु गराएको छ ।

दुर्गापुर बजार क्षेत्रमा जम्मा भएका स्थानीयलाई हटाउन इलाका प्रहरी कार्यालय बिर्तामोड, सुरुङ्गा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले सामान्य बल प्रयोग गर्नुपरेको थियो । अहिले दुर्गापुर क्षेत्र सामान्य अवस्थामा आएको छ भने सवारी यातायात सञ्चालनमा आइसकेको छ ।

सम्बन्धित खबर