बिर्तामोड । नेकपा (माओवादी केन्द्र)का एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको असार २७ गते निधन भएको थियो ।
पार्टीका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज झलकसिंह दर्लामीले शोक मन्तव्य राख्दै पार्टीले असल अभिभाक गुमाएको बताए । दिवंगत सीता दाहालले पार्टीलाई दिएको योगदान चिरकालसम्म जीवन्त रहने दर्लामीको भनाई छ ।
पार्टीका झापा जिल्ला समन्वय समिति संयोजक राजु आचार्य (अग्नि)को अध्यक्षतामा भएको श्रद्धाञ्जली सभाको सञ्चालन सचिव मोहन टुडू (सरोज)ले गरेका थिए ।
शोकसभामा पार्टीका केन्द्रीय सदस्य पूर्णसिंह राजवंशी, लक्ष्मी न्यौपाने (सरु), भोजेन्द्र चौलागाईं लगायत सयौंको संख्यामा नेता कार्यकर्ताको उपस्थिति थियो । सहभागीहरुले सीताको तस्वीरमा पुष्पगुच्छा अर्पण गरेर दिवंगत आत्मको चिरशान्तिको कामना गरेका थिए ।
१० वर्ष लामो सशस्त्र द्वन्द्वको तयारी, द्वन्द्वको कठिन अवधिदेखि शान्तिप्रक्रिया हुँदै पार्टीलाई पटक–पटक सरकारको नेतृत्वमा पुर्याउन असीमित निःस्वार्थ योगदान दिने सीता दाहाल वि.सं. २०११ साल असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेश्वर पौडेल र आमा हरिकला पौडेलको सन्तानका रुपमा जन्मिएकी थिइन् ।