२०८१ मंसिर ४, मङ्गलवार , ०६:४४:०२ बजे

Sajhamanch
'

नवनासोले मनायो २१० औं भानु जयन्ती

शुक्रवार, असार २९, २०८०

शिवसताक्षी । नवनासो साहित्य प्रतिष्ठानको आयोजनामा २१०औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिका वडा–१ नवनासो साहित्य प्रतिष्ठान धरमपुरको सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा कमल गाउँपालिका वडा नं।३का वडा अध्यक्ष अग्निप्रसाद कोइरालाले भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै जसरी पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे त्यसरी नै भानुभक्तले अलग अलग राज्यमा विभाजित भाषा भाषिहरुलाई नेपाली भाषाको माध्यमबाट एकीकरण गरेको बताए ।

सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ ।
१८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ’भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने कार्यक्रमका विशेष अतिथि साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठले धारणा राखे।

प्रतिष्ठानका आजीवन सदस्य तथा सल्लाहकार सामाजिक व्यक्तित्व चन्द्रवीर नेम्बाङले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य तथा साहित्यकार ,हरि पराजुली,साहित्यकार विन्दु दाहाल मुकदर्शक,सेलिङ केसी,भानुभक्त कुभिडेली ,पिताम्बर न्यौपाने ,इन्दिरा रिजाल पराजुली लगायत कार्य समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका अध्यक्ष दिलिप घिमिरेको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निहाङ किरातीले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तेजेन्द्र घिमिरेले गरेका थिए ।

शुक्रवार, असार २९, २०८० | समाज, साहित्य

सम्बन्धित खबर