२०८१ पौष ७, आइतवार , ०७:१०:५० बजे

Sajhamanch
'

एक महिनामै ८ सिक्री लुटपाटको घटना, समातियो ४ जनाको समूह

आइतवार, असार २४, २०८०

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन विक्री गर्न सहयोग गर्ने राहुल माझी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रमुख एसएसपी डा। मनोज केसीले बताए । उनका अनुसार यो गिरोहले पछिल्लो एक महिनामा ८ वटा चेन लुटपाटको घटना गराएको थियो ।

‘प्रहरीले असार १ गतेबाट सर्वसाधारणको चेन तानेर भाग्ने गिरोहको खोजी गरिरहेका थियौं, २० असारमा टोखा पेट्रोल पम्प नजिक भएको रीता श्रेष्ठको सिक्री लुटिएको घटनामा स्पष्ट देखिने खाल्को फुटेज हात परेपछि अनुसन्धानले गति लिड लिएको थियो’, एसएसपी केसीले भने, ‘त्यसक्रममा लुटपाट गर्दा मोटरसाइकल चलाउने रवि विक र पछाडि बसेर लुट्ने रविन दमाईसहित ४ जना पक्राउ परेका छन् ।’

प्रहरीका अनुसार, लुटपाटका लागि उमेश क्षेत्रीले व्यवस्थापन मिलाउने गरेका थिए । उनी पहिले पनि मोटरसाइकल चोरीमा पक्राउ परेर धरौटीमा छुटेको व्यक्ति हुन् ।

‘प्रायः चोरीको मोटरसाइकल प्रयोग गरेर नम्बर परिवर्तन गर्दै विभिन्न घटनामा प्रयोग हुने गरेको देखिएको छ’, केसीले भने, ‘अधिकांश घटनामा ड्यूक मोटरसाइकल प्रयोग भएको छ ।’

प्रहरीका अनुसार, चेन लुटपाटको घटनामा पहिले मोटरसाइकल कुदिरहेका बेला घाँटीबाट चेन तान्ने गरेको देखिन्थ्यो । यो घटनामा भने मोटरसाइकलबाट ओर्लिएर चेन तानेर भाग्ने गरेको देखिएको छ ।

प्रहरीले बिक्री गरिएको केही सुन पनि बरामद गरेको जनाएको छ । थप अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।