२०८१ पौष २५, बिहिवार , ०५:३२:०१ बजे

Sajhamanch
'

लाइसेन्स प्रक्रिया पूर्णरूपमा अनलाइन प्रणालीमा, भिड हट्ने

शुक्रवार, असार २२, २०८०


काठमाडौं । यातायात व्यवस्था विभागको नेतृत्वमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिने प्रक्रियाले महत्वपूर्ण सुधार ल्याएको छ ।

अब सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ । यससँगै भौतिकरूपमा उपस्थित हुनुपर्ने बाहेकका सबै सुविधा अनलाइनबाट गर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले लाइसेन्ससम्बन्धी सेवा दिने यातायात कार्यालयमा ७० प्रतिशत काम एवं भिड हट्ने बताएका छन् ।

यससँगै यातायात कार्यालयमा राजस्व बुझाउन लाइन बस्नुपर्ने छैन । नयाँ लाइसेन्स लिनेले बायोमेट्रिक र मेडिकल जाँचका लागि जानुपर्नेछ ।

त्यसपछि अनलाइनबाटै राजस्व तिरी लिखित परीक्षा दिन र ट्रायल (प्रयोगात्मक परीक्षा) दिन जान मिल्नेछ । ट्रायलमा पास भएपछिको राजस्व पनि अनलाइनबाटै तिर्न सकिनेछ । त्यसपछि लाइसेन्स लिन मात्रै कार्यालय गएहुन्छ ।

“हामीले यातायात कार्यालयबाट दिने सेवामा ठूलो सुधार ल्याउन खोजेका छौँ । अनलाइनबाटै भुक्तानी गर्नसकिने सहितको सेवा सञ्चालनमा ल्याउन तीन महिनासम्म दिनरात काम भएको छ,” यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईले भने ।

कहिलेदेखि आउँछ सञ्चालनमा ?

असार २० गते (बुधबार) भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइन भुक्तानी प्रणालीको उद्घाटन गरे । हाल लाइसेन्सको आवेदन दिएको १५ दिनपछि मात्रै सम्बन्धित यातायात कार्यालयमा जानुपर्ने पालो आउँछ ।

त्यसैअनुसार असार २० गतेपछि आवेदन दिएका सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्नसकिने प्रणाली प्रयोग गर्न पाउनेछन् । उनीहरूको पालो १५ दिनपछि आउँछ ।

यस्तै वर्ग थपको आवेदन दिएकाहरूको पालो पनि १५ दिनपछि आउँछ । असार २० पछि वर्ग थपको आवेदन दिनेहरूले पनि अनलाइनबाटै भुक्तानी गर्न पाउनेछन् ।

लाइसेन्स नवीकरण गर्नेहरूले भने पालो आउन १५ दिन कुर्न पर्दैन । तर, पहिलो चरणमा यो प्रणाली गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालय कास्कीमा मात्रै परीक्षणका रूपमा सञ्चालनमा आएको छ । अन्य कार्यालयमा बिस्तारै हुने बताइएको छ ।

यातायात व्यवस्था कार्यालय कास्कीले असार २४ देखि लाइसेन्स नवीकरणको भुक्तानी अनलाइनबाटै गर्नसकिने गरी सञ्चालनमा ल्याउने भएको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव एवं प्रवक्ता टीकाराम पौडेलले परीक्षणका रूपमा यो प्रणाली सञ्चालनमा आउन लागेको बताए ।

देशभर कहिले सञ्चालनमा आउँछ ?

यातायात व्यवस्था कार्यालय कास्कीमा करिब १५ दिन परीक्षणका रूपमा सञ्चालनमा आएपछि एकमहिना भित्रै देशभरका सबै लाइसेन्स वितरणको काम यातायात कार्यालयबाट सुरु हुनेछ ।

“पहिलो चरणमा कास्कीमा परीक्षणका रूपमा सुरु गरेका छौँ । एक महिना भित्रै सबै यातायात कार्यालयमा सञ्चालनमा आउँछ,” विभागका महानिर्देशक भट्टराईले भने, “अनलाइन भुक्तानीका क्रममा कुनै समस्या देखियो, त्रुटि आयो भने त्यसको समाधान गर्छौँ । तर, हामीले पहिले नै परीक्षण गरिसकेको भएर समस्या नआउनेमा विश्वस्त छौँ ।”

योजना अनुरुप प्रणालीले सफल काम गरेमा एक महिना भित्रै देशभरका सबै कार्यालयहरूमा अनलाइन भुक्तानी सेवा सुरु हुने विभागको भनाइ छ । यो सेवा सञ्चालनमा आएपछि सेवाग्राहीले बायोमेट्रिक, लिखित र ट्रायल गरी तीन पटक मात्रै कार्यालय जानुपर्ने उनको भनाइ छ ।

मेडिकल जाँचका लागि चिकित्सक एवं संस्था सूचीकृत गरिने

नयाँ लाइसेन्स लिने, मेडिकल जाँच गर्नुपर्ने अवधि भइसकेको वर्ग थप गर्ने सेवाग्राही र नवीकरण गर्नेले अहिले मेडिकल जाँचका लागि कार्यालयमै जानुपर्ने भएको छ ।

तर, चाँडै नै व्यवस्था अनुरुप दर्ता भएका चिकित्सक एवं स्वास्थ्य संस्थाहरूलाई मेडिकल जाँचको अनुमति दिने विभागका महानिर्देशक भट्टराईको भनाइ छ ।

त्यसपछि कुनै पनि सेवाग्राहीले आफू नजिकको ठाउँबाट मेडिकल जाँच गराउन सक्ने छ । आँखा र अन्य स्वास्थ्य जाँच गरेको विवरण ती चिकित्सक एवं संस्थाले नै यातायात कार्यालयको प्रणालीमा राखिदिनेछन् ।

प्रदेशहरूलाई यो सुविधाका लागि मेडिकल जाँच गर्न इच्छुकलाई आह्वान गरेर सूचीकृत गर्न भनेको यातायात व्यवस्था विभागले जनाएको छ ।

लाइसेन्स नवीकरण, वर्गथप र नयाँ लाइसेन्स लिने सबैकाम यातायात व्यवस्था विभागकै प्रणाली https://applydl.dotm.gov.np बाट हुँदै आएको छ । यसै प्रणाली भित्र अनलाइन भुक्तानीको सुविधा पनि थपिएको हो ।

विभागका महानिर्देशक भट्टराईले यो महत्वपूर्ण सुधार भएको बताएका छन् । राजस्व भुक्तानी गर्न एउटा लाइन, बिल बुझाउन अर्को लाइनको झन्झटमुक्त हुने उनको भनाइ छ ।

“स्वास्थ्य जाँच, बायोमेट्रिक, लिखित र ट्रायलका लागि भौतिकरूपमै उपस्थित हुनुपर्ने भएकाले यी बाहेकको काम अनलाइबाट गर्नसकिने सुविधालाई ठूलो सुधारका रूपमा हेरेका छौँ,” विभागमा महानिर्देशक भट्टराईले भने ।

सम्बन्धित खबर