काठमाडौं । काठमाडौं उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थप गरिएका छन् ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोस्ट थपिएका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार काठमाडौंका मूलपानी र धर्मस्थली, भक्तपुरका दुवाकोट र दधिकोट तथा ललितपुरको चाल्नाखेलमा अस्थायी ट्राफिक पोस्ट थप गरिएको छ ।
पाँच पोस्ट थप गरेसँगै अब उपत्यकाभित्रका ६६ स्थानबाट ट्राफिक व्यवस्थापन हुनेछ । थपिएका पाँच अस्थायी ट्राफिक प्रहरी पोस्टबाट उपत्यकाभित्रका मोफसलमा रहेका स्थानमा समेत ट्राफिक व्यवस्थापन र आवागमनमा थप सहजता हुने विश्वास लिइएको छ ।
हाल काठमाडौं उपत्यकाभित्र एक हजार ८१४ ट्राफिक प्रहरीमार्फत ट्राफिक व्यवस्थापन हुँदै आएको छ । दरबन्दी भने एक हजार ११३ जनाको रहेको प्रवक्ता भट्टले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक तथा निजी सवारीसाधनको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । हाल वाग्मती प्रदेशभित्र १८ लाख ३५ हजार १८१ सवारीसाधन दर्ता छन् ।