२०८१ माघ १४, सोमवार , १०:५१:०५ बजे

Sajhamanch
'

खुल्ला दिसामुक्त क्षेत्र घोषित ताप्लेजुङमा अझै पनि छैन शौचालय

बुधवार, असार २०, २०८०

ताप्लेजुङ । ७ वर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषित ताप्लेजुङका करिव ५ सय परिवारमा अझै पनि शौचालय नभएको प्रतिवेदन तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

पाँचथर र ताप्लेजुङ दुबै जिल्लालाई हेर्ने तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय जनगणना २०७८ को जिल्लागत प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो।

सबै घरधुरीमा शौचालय बनिसकेको भन्दै ताप्लेजुङलाई २०७३ साल जेठ ३१ गते तामझामका साथ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो। त्यसको ७ वर्ष पछि तथ्याङ्क कार्यालयले यहाँका ४ सय ९२ परिवारमा शौचालय नभएको बताएको छ। प्रतिवेदन अनुसार ताप्लेजुङमा २७ हजार ७ सय ७६ परिवार रहेका छन्। तथ्याङ्क अधिकृत प्रेम नेपालका अनुसार सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकाका १ सय १४ परिवारमा शौचालय छैन। त्यसपछि फुङलिङ नगरपालिकाका ६४ परिवारमा शौचालय नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैगरी मिक्वाखोला गाउँपालिकाका ५५ परिवारमा,सिरिजङ्गा गाउँपालिकाका ५३ परिवारमा,मेरिङदेन गाउँपालिकाका ५२ परिवारमा,पाथीभरा याङ्वरक गाउँपालिकाका ५१ परिवारमा,आठराई त्रिबेणी गाउँपालिकाका ४३ परिवारमा,मैवाखोला गाउँपालिकाका ३९ परिवारमा र सिदिङ्वा गाउँपालिकाका २१ परिवारमा शौचालय नभएको तथ्याङ्क कार्यालयले जनगणनाको प्रतिवेदन भन्दै विवरण सार्वजनिक गरेको छ।

प्रतिवेदन अनुसार ताप्लेजुङ भरीमा ७२ वटा सार्वजनिक शौचालय रहेका छन्। सबैभन्दा बढी सिरिजङ्गा गाउँपालिकामा २० वटा,फुङलिङ नगरपालिकामा १७ वटा र मैवाखोला गाउँपालिकामा १० वटा सार्वजनिक शौचालय रहेका छन्। सबैभन्दा कम आठराई त्रिबेणी गाउँपालिकामा २ वटा सार्वजनिक शौचालय रहेको जनगणनाको प्रतिबेदनमा उल्लेख गरिएको छ। यस्तै पाथीभरा याङ्वरक,सिदिङ्वा र मेरिङदेन गाउँपालिकामा ५–५ वटा तथा फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकामा ४–४ वटा सार्वजनिक शौचालय रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। जिल्लाभरीका २० हजार १ सय ६६ फ्लस भएको सेफ्टीयाङ्की सहितको र २ सय ६५ परिवारमा फ्लस भएको सार्वजनिक ढल सहितको शौचालय रहेको प्रतिवेदनमा भनिएको छ। ६ हजार ७ सय ८१ परिवारले भने साधारण शौचालय प्रयोग गर्ने गरेको समेत तथ्याङ्क कार्यालयले जनाएको छ।

सम्बन्धित खबर