२०८१ असोज ४, शुक्रवार , ०३:१२:३५ बजे

Sajhamanch
'

भद्रपुरमा रोजगार सम्बाद मञ्च गठनको तयारी

बुधवार, असार २०, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकामा रोजगार क्षेत्रको समग्र पक्षको समुचित व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्बाद मञ्च गठनको तयारी गरिएको छ । नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल शुरु गरेको हो ।

भद्रपुर नगरपालिकामा रोजगारीको क्षेत्रका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवम् ढाँचा तथा विधि विकास गर्न यस्तो फोरम गठन गर्न लागिएको हो ।

रोजगार नीति तथा कार्यक्रमका सम्बन्धमा आवश्यक सुझाव आदान–प्रदान गर्न निजी, सहकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रसमेतको सहभागितामा रोजगार सम्वाद मञ्च गठनको तयारी गरिएको नगरपालिकाका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिएका हुन् ।

सोही सन्दर्भमा मंगलबार सरोकारवालाबीच ‘रोजगार सम्वाद मञ्च सञ्चालन एवम् स्थानीय तह रोजगार तर्जुमा’ सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले रोजगारको बहुआयामिक पक्षका बारेमा जानकारी गराएका थिए । सो कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम (सामी)–का कार्यक्रम संयोजक फणिन्द्रप्रसाद दाहालले आन्तरिक रोजगारी, खोजी र साझेदारी’ विषयमा अवधारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरपालिकाले रोजगार सम्बाद मञ्च सञ्चालन तथा व्यवस्थापन कार्यविधिको प्रारुप तयार पारेको र छलफलको क्रममा रहेको जानकारी दिँदै नगरप्रमुख पोखरेलले छुट्नसक्ने विषयहरुका लागि सुझाव संकलन गर्न सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको जानकारी दिए ।

कार्यक्रममा संकलन भएका महत्वपूर्ण सुझावहरु समेटेर कार्यविधिलाई अन्तिम रुप दिइने र यसै वर्षबाट कार्यविधि लागू गरी कार्यान्वयनमा ल्याइने नगरप्रमुख पोखरेलले बताएका छन् ।

सम्बन्धित खबर