२०८१ पौष २४, बुधवार , ०७:३७:४५ बजे

Sajhamanch
'

नेपालले जित्यो एसीसी मेन्स यू–१६ इस्ट जोन कपको उपाधि

मङ्गलवार, असार १९, २०८०

काठमाडौं । बलिङमा अभिषेक तिवारी र ब्याटिङमा नरेन चम्किएपछि फाइनलमा घरेलु टिम मलेसियाविरुद्ध २२१ रनको फराकिलो जित निकाल्दै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ ।

मंगलबार मलेसियाको बायुइमास ओभलमा नेपालले प्रस्तुत गरेको २५३ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टिम १४.५ ओभरमा ३१ रनमै समेटियो ।

मलेसियालाई सस्तैमा समेट्न घातक बलिङ गरेका अभिषेकले पाँच विकेट लिए । ६ ओभर बलिङ गरेका अभिषेकले एक मेडन राख्दै सात रन मात्र खर्चिए । सन्तोष यादवले तीन विकेट लिए । तीन ओभर बलिङ गरेका सन्तोषले दुई मेडन राख्दै नौ रन खर्चिए । सागर गैरे र अशोक धामीले समान एक विकेट लिए ।

नेपाली बलरसामु निरीह देखिएको मलेसियाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । मुहम्मद अक्रमले १० रन जोडे । उनीबाहेक नेपालविरुद्ध मलेसियाका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका पाँच ब्याटर ‘डक’ भएका थिए । त्यसमध्ये ओपनर मुहम्मद अस्याकल ‘गोल्डेन डक’ भएका थिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपालले नरेनको शतकमा निर्धारित ३५ ओभरमा आठ विकेट गुमाएर २५२ रन बनाएको थियो ।

नरेनले ८९ बलमा १० चौका र दुई छक्कासहित अविजित ११२ रनको योगदान गरे । निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यकुमार कोइरालाले १८ र अशोक धामीले ११ रन जोडे । नेपालले २६ रन अतिरिक्त पाएको थियो ।

नेपाल ११२–४ को अवस्थामा हुँदा सन्तोष र नारेनले १०४ रनको साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ डोहोर्‍याएका थिए ।

मलेसियाका मुहम्मद अक्रमले तीन विकेट लिए । हाजिक हाइकल, अरियन अकिल र मुहम्मद फतहुल मुइनले समान एक विकेट लिए ।

नेपालले सेमिफाइनलमा सिंगापुरलाई हराएको थियो । त्यसअघि, समूह ‘ए’को विजेता बन्दै नेपालले अन्तिम चारमा स्थान बनाएको थियो ।

सम्बन्धित खबर