२०८१ पौष १४, आइतवार , १०:०८:४२ बजे

Sajhamanch
'

प्रेस चौतारीले आन्दोलनको स्वरुप बदल्योः पत्रकार महासंघ झापा अध्यक्ष र उपाध्यक्ष उपस्थित हुने औपचारिक कार्यक्रम बहिस्कार गर्ने

आइतवार, असार ३, २०८०

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले नेपाल पत्रकार महासंघ झापा विरुद्ध सञ्चालन गरिरहेको आन्दोलनको स्वरुप बदलेको छ । पत्रकार महासंघको झापा शाखामा कालो झण्डा राख्ने र धर्ना दिने कार्यक्रम सम्पन्न गरिसकेको चौतारीले अब नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष र उपाध्यक्ष सहभागी भएको कार्यक्रमहरुमा प्रेस चौतारी झापाका कोही पनि सदस्यहरु सहभागी नहुने निर्णय गरेको छ ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा निजहरुलाई कुनै पनि संघ–संस्थाले औपचारिक कार्यक्रममा सहभागी नगराउन पनि अनुरोध गरिएको छ । ‘औपचारिक कार्यक्रमहरुमा यदि उनीहरु सहभागी रहे भने चौतारी आवद्ध पत्रकारहरुले कार्यक्रम बहिस्कार गर्नुपर्ने अवस्था आउँछ’ अध्यक्ष गदालले साझामञ्चसँग भने ।

साधारण सभामार्फत् नेपाल पत्रकार महासंघले बनाएको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित झापा शाखाले ंबहुमतका नाममा गरेको सदस्यता शुद्धिकरण सिफारिस पूर्वाग्रहप्रेरित रहेको चौतारीको ठहर छ । ‘पत्रकारितामा निरन्तर सक्रिय रहेका प्रेस चौतारी सम्बद्ध पत्रकारहरु र अन्य केही साथीहरु वर्तमान महासंघ कार्यसमितिको नजरमा निस्क्रिय देखिनु वा अन्य पेसामा आवद्ध रहेको पाउनु उहाँहरुको दृष्टिदोष शिवाय अरु केही हुन सक्तैन’ विज्ञप्तिमा उल्लेख छ ।

सदस्यता शुद्धिकरण कार्यदलले नियत राखेर ६७ जनाको नाम शुद्धिकरण गर्न प्रदेशमा पठाएको जानकारी पाएपछि आन्दोलनमा होमिएको प्रेस चौतारीले आज बैठक बसेर आन्दोलनको स्वरुप बदलेको हो । संगठन शान्तिपूर्ण आन्दोलनमा रहेकै बेला आज नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले सदस्यता शुद्धिकरणमा देखिएको समस्या र शाखाहरुमा भएका आन्दोनलाई सम्बोधन गरेको विषयलाई प्रेस चौतारी झापाको विस्तारित बैठकले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबर