भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ ।
स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन २०८० सुरू भएको हो ।
भद्रपुर नगर युवा परिषद्को आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने प्रथम युवा सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए ।
युवा सम्मेलनको औचित्य माथि प्रकाश पार्दै नगरप्रमुख गणेश पोखरेलले युवाको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि सकारात्मक उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
नगरप्रमुख पोखरेलले युवामा सामाजिक तथा सामुदायिक दायित्व बहनको भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित जिउन उत्प्रेरित गर्ने बताउँदै नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको प्रष्ट पारे ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष सरोज ढकालले स्वागत गरेका थिए भने परिषदका नगर सदस्य सचिव योगेन्द्र पौडेलले कायृक्रम सञ्चालन गरेका थिए ।
युवा भेलामा भद्रपुर नगरपालिका क्षेत्रका विभिन्न विधाबाट १६ देखि ४० वर्षसम्मका २०० जना युवा सहभागी भएका छन् ।