काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले सांसदहरूलाई संसद्मा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा संसद्मा कसरी प्रस्तुत हुने भनेर सांसदहरूलाई प्रशिक्षण दिन शनिबार बोलाइएको संसदीय दलको बैठकमा ओलीले उक्त कुरा राखेका हुन् ।
‘संसद्मा हाम्रो उपस्थिति लुलो-लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो । एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो ?,’ उनले सांसदहरूलाई भने ।
ओलीले जोशजाँगरसहित संसद्मा उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् । ‘विचार, तरिका, प्रस्तुति नयाँ छैन भने पार्टी पुरानो हुन्छ । तर हामी विचारको हिसाबले, जोश जाँगरको हिसाबले बलियो छौं भन्ने लाग्छ । हाम्रो प्रस्तुति स्ट्रोङ, तेजतर्रार हुनुपर्छ,’ उनको निर्देशन थियो ।
यस्तै संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम समर्थन लायक नभएको ओलीको टिप्पणी थियो । नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुनै पनि समस्या पहिचान गर्न नसकेको पनि उनले बताए । ‘समस्या समाधान गर्न नसकेपछि समाधान कसरी गर्छ गर्छ ?’ उनले प्रश्न गरेका थिए । सरकारको नीति तथा कार्यक्रममा कुनै गम्भीरता नदेखिएको उनको भनाइ थियो।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा पुराना नीति तथा कार्यक्रमका दस्तावेजबाट विषय तानतुन गरिएको पनि उनले आरोप लगाए । नीति तथा कार्यक्रम कहिँ पनि समर्थन गर्न लायक नभएको ओलीको भनाइ थियो । ‘नीतिहीन, दिशाहीन, गतिहीन छ । संविधान, देशका आवश्यकतासँग जोडिएको छैन,’ उनले भने, ‘यस्तो दस्तावेज संसद्मा ल्याएर नीति कार्यक्रमको रूपमा प्रस्तुत गर्न हुन्छ ? के हो नीति कार्यक्रम भनेर छलफल चलाएको भए हुन्थ्यो नि !,’ उनले भने ।