२०८२ असार ८, आइतवार , ०३:४८:०३ बजे

Sajhamanch
'

कविताः अब कसलाई सोध्ने ?

मङ्गलवार, जेठ २, २०८०

शिवको सनातनको परिधिभित्र
ओशोको प्रवचनले होस् या
बुद्धको सन्यासले
अर्थात श्रीपादको भक्तीले
अथवा किरातको मुन्धुमले
मेरो समाज कर्तव्यपरायण बनोस्
संस्करित बनोस् ।

एकै रङ्गको खुन र एउटै आकृतिभित्र
कहाँ सैतान खोज्छ मानिस ?
कस्लाई आतंकी र काफिर देख्छ मानिस ?
मेरो र उसको धर्ती एउटै
मेरो र उसको आकाश एउटै
वायु एकै प्राण दिने
पानी एउटै प्यास मेट्ने
खै तिमी अलि लोभी भयेर हो कि !
खै तिमी अलि महत्वाकांक्षी भयेर हो कि !
बिचलित देख्छु मनुवा
तिमी क्षणिक अँध्यारोमा हुन्छौ
म पनि त हुन्छु ।

तर अब अँध्यारो कहाँ छ र !
चारकोसे र अमेजन प्रकाशमय हुन लागिसक्यो
चरा चुरुङी र जनावरको बास छिनिसक्यो
हरित क्रान्तिको बिगुल बज्दा
प्राकृतिक बिजहरु अंकुरित हुन थालिसके
क्रान्ति क्रमिक भएको राम्रो
भाला चलाउनेहरुले तोप गोला नचलाउन्
समुद्रको खारापन नहराओस्
पर्वतहरु स्खलित नहुन्
मैले सोच्न थाल्दा तिमी पनि त कर्म गर्दैछौ नि !
मन्दिरमा बजेको शंख,
चर्चमा बजेको घन्टको संदेश
पनि त्यही हो

तिमी निरपेक्ष निर्विकल्प आफैं एक
सृजनशिल प्रकृति हौ,
रक्षक हौ यो पूरा भूगोलको
समय तिम्रो, बिवेक तिम्रो,
प्राण र शरीरको अन्तर्वस्तु
अब कसलाइ सोध्ने ?

नया दिल्ली मे ६ ,२०२३