काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पूर्जी दिएको अदालत स्रोतको भनाइ छ । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचिक कार्य गरेको भन्दै प्रहरीले पक्राउ पूर्जी जारी गरिदिन अदालतमा भनेको थियो ।
त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पूर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।
उनीहरुको बयानका क्रममा पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकले पनि आफूहरुसँग सहयोग गरेको बताएका छन् । यो प्रकरणमा पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वगृहसचिव एवं राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् ।
नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पूर्जी जारी भइसकेको छ । उनीहरुको प्रहरीले खोजी थालेको छ ।
उनीहरुको बयान लिने क्रममा रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरुले कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई शरणार्थी बनाउने प्रयास गरेको खुलेको थियो ।
शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागि परेको थियो ।
त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि संलग्न देखिएका छन् । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।