भद्रपुर । भद्रपुर नगरपालिकामा वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
भद्रपुर बलबस्टर्स क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई १०० रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ ।
टस हारेपछि पहिला ब्याटिङ पाएको वडा नम्बर ६ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१८ रनको विशाल स्कोर खडा गरेको थियो ।
वडा ६ का नीरज चौधरीले ३४ रन बनाउँदा राहुल गुप्ताले ३२ रन, बिट्टु कामती र राकेश साहले ३०–३० रन, नीरज , ईश्वर हाडाले १८ रन र मनिष कामतीले १६ रन बनाएका थिए ।
वडा नं. ९ का पारस बाँस्तोला र निशान मगरले दुई–दुई विकेट लिएका थिए । विशाल राई, मिलन राउत र राजन भट्टराईले समान एक विकेट लिएका थिए । २१९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वडा नम्बर ९ ले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो ।
वडा ९ का पारस बाँस्तोलाले ४० रन बनाउँदा पुष्कर दाहालले ५ र विशाल राईले ६ रन बनाएका थिए । वडा ६ का बिट्टु कामतीले ५ विकेट लिँदा अभय रजाकले दुई, बासु साह र मानस कर्मकारले एक–एक विकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच वडा ६ का बिट्टु कामती घोषित भए ।
शुक्रबार हुने खेल वडा नम्बर ८ र १० बीच हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको विजेतालाई नगद ३० हजार र उपविजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिने क्लबका सहसचिव किशोर लामाले जानकारी दिए ।
क्लबका अध्यक्ष मोहम्मद अफ्रोजको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।