२०८१ मंसिर ९, आइतवार , ०३:५२:०० बजे

Sajhamanch
'

जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताः उद्घाटन खेलमा आयोजक विजयी

बुधवार, फागुन १७, २०७९

कनकाई । नारी दिवसको अवसर पारेर झापाको कनकाईमा सञ्चालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।

सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सहआयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठानले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई महिला फुटबल क्लव र शिवसताक्षी महिला फुटबल क्लब बीच भएको थियो ।

खेलको दोस्रो हाफ पछि आयोजक कनकाईका तर्फबाट लक्ष्मी श्रेष्ठले विपक्षीको जाली चुम्न सुरुवात मात्र गरिनन् लगातार चार गोल गर्न सफल भइन् । आयोजकका मनिता तुम्रुकबाट थप एक गोल गरेर ५–० को फराकिलो गोल अन्तरले आयोजक टिमले खेल जितेको हो ।

खेलको प्लेयर अफ दि म्याच आयोजक टिमकी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनलाई नगद २ हजार प्रदान गरिएको थियो । प्रतियोगिता अन्तरगत भोलि बिहीबार जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र बाह्रदशी महिला फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

कनकाई मावि सुरुङ्गाको खेल मैदानमा भइरहेको प्रतियोगितामा झापाका ८ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा कनकाई महिला फुटबल क्लब, शिवसताक्षी महिला फुटबल क्लब, दमक महिला फुटबल क्लब, पारिजात महिला फुटबल क्लब सालबारी, जुनतारा महिला फुटबल क्लब खुदुनाबारी, बाह्रदशी महिला फुटबल क्लब, भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपानेले भाग लिएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।

प्रतियोगितामा विजयी टिमले पुरस्कारवापत नगद ७५ हजार र उपविजयीले ५० हजार नगद पाउने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि कनकाई नगरपालिकाको आर्थिक सहयोग रहेको र प्रथम पुरस्कार कनकाई नगर खेलकुद विकास समितिबाट प्राप्त हुने बताइएको छ ।

सम्बन्धित खबर