२०८१ पौष १९, शुक्रवार , ११:५७:१७ बजे

Sajhamanch
'

भद्रपुर झापा गोल्डकपः मछिन्द्र फुटबल क्लब फाइनलमा

आइतवार, फागुन १४, २०७९

भद्रपुर । मछिन्द्र फुटबल क्लब झापामा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अब मछिन्द्रले उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग मंगलबार भिड्नेछ । फाइनल प्रवेशसँगै मछिन्द्रले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा आज आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगेको हो ।

मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । श्रेष्ठको गोल नै निर्णायक बन्यो । खेलको १७ औँ मिनेटमा डी–बक्सभित्र आन्दे्रस नियाको चलाखीपूर्ण पासलाई सदुपयोग गर्दै श्रेष्ठले जाली चुमाएका हुन् ।

दर्शकले भरिभराउ रंगशालामा गतवर्षको लिग च्याम्पियन मछिन्द्रले गोल गरेपछि एपिएफ दबाबमा परेको थियो । पहिलो हाफमा मछिन्द्र एपिएफ माथि हाबी देखियो ।

खेलको २५औँ मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङको फ्री–किक प्रहार क्रसबार माथिबाट आकाशियो । खेलको ३५औँ मिनेटमा सौरभ लिम्बूले डी–बक्स भित्रबाट गरेको प्रहार एपिएफका गोलरक्षक अञ्जल श्रेष्ठको रोके ।

पहिलो हाफको अतिरिक्त समयमा एपिएफका सविन थापाको प्रहार क्रसबारमा ठोक्किएर बाहिरियो । दोस्रो हाफमा एपिएफले खेल सुधारेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा मछिन्द्रलाई एपिएफले दोस्रो हाफमा रोक्न सफल भयो । एपिएफले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिनु पर्यो ।

आइतबारको खेलको प्लेयर अफ दि म्याच मछिन्द्रका सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।