मेचीनगर । मेचीनगर नगरपालिकामा नगर वित्तीय रणनीति तर्जुमा सम्बन्धी पहिलो चरणको छलफल शुक्रबार गरिएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर वित्तीय रणनीति तर्जुमाका विज्ञ प्रमुख विष्णुदत्त गौतमसहितको टोलीसँग नगरपालिकाले अन्तरक्रिया गरेको हो ।
मेचीनगरमा उचित खानेपानीको व्यवस्थापन, बहुतले बसपार्क निर्माण, नगर अस्पताल व्यवस्थित सञ्चालन, स्टेडियम निर्माण, फोहोरमैला व्यवस्थापन, सडक निर्माण, पूल निर्माण र नदी कटान नियन्त्रणका लागि तटबन्ध लगायतका विषयमा आगामी दिनमा कसरी बजेट ल्याउने र त्यसलाई कसरी प्रभावकारी ढंगले कार्य सम्पादन गर्ने भन्ने विषयमा छलफल भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।
नगरपालिकाको सभाहलमा आयोजित छलफल कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, लेखा अधिकृत पदकबहादुर कार्की, लेखापाल राजन भेटवाल, नगर वित्तीय रणनीति तर्जुमा काठमाडौंका विज्ञ सदस्य हरिबोल काफ्लेसहितको सहभागिता थियो ।