बिर्तामोड । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री हस्तान्तरण गरेको छ । आज आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गतका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरिएको शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिएका छन्
नगरपालिकाले मिनी ट्रेलर ९ थान, ड्रिल मेशिन ३ थान, ड्यांग बनाउने मेशिन १ थान, उकेरा लगाउने मेशिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका तरकारीको विउ विजन वितरण गरेको हो । जम्मा २१ लाख १० हजार ९०० रुपैयाँको सामाग्री वितरण गरिएको कृषि शाखा प्रमुख कडरियाले बताए ।
नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले किुानहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले अनुदानमा दिएका सामग्रीहरुको सही सदुपयोग गर्न निर्देशन पनि गरिन् । बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्दै गएको र कृषिक्षेत्र साँघुरिँदै गएको सन्दर्भमा खाली रहेका जमिनहरु बाँझो नराख्न नगरप्रमुख प्रसाईंको आग्रह थियो ।
यस्तै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै भारतबाट ल्याइएको, विषादी हालिएका तरकारीले क्यान्सर लगायतका प्राणघातक रोग लाग्ने भएकाले यहीं विषादी रहित तरकारी व्यवसायिक रुपमा उत्पादन गर्न कृषकहरुलाई आग्रह गरे ।
आर्थिक विकास समिति संयोजक संगीता सिवाको अध्यक्षतामा आयोजित कृषि औजार हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तरकारी उत्पादन तथा व्यवस्थापन समितिका अध्यक्ष माधव सिटौला लगायतको सहभागिता थियो ।